
बैंकिङ खबर/ नेपाली समाज पछिल्लो समय निकै शिक्षित बनिसकेको छ तर वित्तीय साक्षरतामा भने कमजोर नै बनेको छ । वित्तीय क्षेत्रमा संलग्न व्यक्तिहरूका अतिरिक्त केही प्रतिशत व्यक्ति मात्र वित्तीय क्षेत्र र त्यससँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकार छन् । बैंकिङ कारोबार डिजिटलाइज्ड हुँदै गएपनि वित्तीय साक्षरतामा सुधार हुन सकेको छैन । युवापुस्ता वित्तीय साक्षरतामा अगाडि देखिए पनि ६० वर्षमाथिका पुस्तासम्म वित्तीय साक्षरता पुग्न सकेको छैन।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेशका साथै जिल्लास्तरमा वित्तीय साक्षरताको अवस्था र वित्तीय समावेशिताको स्थिति सम्बन्धमा गरेको सर्वेक्षणले ६० वर्ष काटेकाको वित्तीय साक्षरता २७.९ प्रतिशतमात्रै रहेको देखाएको छ।
युवा पुस्ता वित्तीय साक्षरता र यसका आयाम सबैमा अगाडि छन्। वित्तीय ज्ञानमा युवा पुस्ता बढी अगाडि देखिएका छन्। सर्वेक्षण अनुसार १८–३० वर्षका मानिसको वित्तीय साक्षरता अंक ६३.२ प्रतिशत छ। शिक्षाको तह बढ्दै जाँदा पनि वित्तीय साक्षरता बढ्दै गएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
राष्ट्रियस्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत पाइएको छ। वित्तीय साक्षरताको तीन आयामको रूपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको पाइएको छ। वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयाममा न्यूनतम अंक प्राप्त गरेका छन्।
पुरुषको वित्तीय साक्षरता अंक ६१.८ प्रतिशत पाइएको छ। यो महिलाको तुलनामा ७.५ प्रतिशतले बढी हो। पुरुषको वित्तीय ज्ञानमा अंक ५६.५ प्रतिशत छ। यो महिलाको तुलनामा १७.९ प्रतिशतले बढी हो। वित्तीय ज्ञानमा लैंगिक भिन्नता सबै प्रदेशमा पाइन्छ।
वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसले न्यूनतम अंक प्राप्त गरेका छन्। वित्तीय साक्षरतामा सबैभन्दा बढी अंक बागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ।
केन्द्रीय बैंकले अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका ९ हजार ३ सय ६१ नेपाली नागरिकलाई छनोट गरेको थियो। व्यक्ति चयन गर्नको लागि बहुचरण नमुना छनोट विधि प्रयोग गरिएको थियो। प्रश्नावलीका आधारमा अन्तर्वार्ताको माध्यमबाट २०७८ पुस महिनामा तथ्यांक संकलन गरिएको हो। तथ्यांकलाई प्रत्येक व्यक्तिको वित्तीय साक्षरता र वित्तीय उपकरणको प्रयोगको अवस्थालाई जनसंख्याको भारका आधारमा राष्ट्रिय, प्रादेशिक, जिल्ला र स्थानीय तहको प्रकारअनुसार सूचकहरू निकालिएको छ।
रोजगार, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सीप चाहिने पेसा र कृषि क्षेत्रभन्दा बाहेकका औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिको वित्तीय साक्षरता तुलनात्मक रूपमा धेरै रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
प्रायः सबै सूचकमा तुलनात्मक रूपमा बागमती प्रदेशमा जनसंख्याको सबैभन्दा बढी हिस्साले र मधेस प्रदेशमा सबैभन्दा कम हिस्साले प्रयोग गर्ने गरेका छन्। भुक्तानी सेवाका प्रयोग सबैभन्दा बढी महानगरपालिकामा ९१.९ प्रतिशत वयस्क जनसंख्याले गर्ने गरेको पाइएको छ। कृषि, निर्माण र अन्य क्षेत्रमा रहेका कामदार कम प्रतिशतले भुक्तानी उपकरणको प्रयोग गर्छन्।
अझै पनि ठूलो संख्यामा (४५.५४ प्रतिशत) मानिस सामूहिक बचत ऋण प्रयोग गरिरहेका छन्। २३.९७ प्रतिशत वयस्क जनसंख्याले स्टक तथा सेयर राखेका छन्। तुलनात्मक रूपमा युवा पुस्ताको उच्च हिस्साले बचत, लगानी उपकरणको प्रयोग गर्ने गरेको पाइएको छ। अन्य क्षेत्रको तुलनामा कृषि र निर्माण क्षेत्रका मानिसको थोरै हिस्साले मात्र बचत उपकरण प्रयोग गरेका छन्।
१७.६० प्रतिशतले मात्र बैंक कर्जा उपयोग गरेका छन्। कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन् भने होटल र रेस्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गरेका छन्। राष्ट्रियस्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेका छन्। सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेका उल्लेख छ ।




