December 15th, 2022

‘सहकारीको ५० प्रतिशत रकम बैंक वित्तीय संस्थामा गयो’

बैंकिङ खबर/सहकारी संस्थामा रहेको निक्षेपको ५० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थामा गएको पाइएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंक तथा वित्तीय संस्थाले सहकारीको भन्दा बढी ब्याज दिन थालेपछि सदस्यले रकम सार्न थालेको बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाले कर्जामा औसतमा १८ प्रतिशत लिएका छन् भने सहकारी ब्याजदर १६ प्रतिशत तोकिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा अनुपात चार प्रतिशत छ भने सहकारीको ६ प्रतिशत कायम छ । सहकारीले ब्याज बैंक तथा वित्तीय संस्थाको भन्दा बढी हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

सहकारी नियमावली, २०७५ बमोजिम बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था र संघहरूको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनबमोजिम ‘क’ वर्गको इजाजतपत्र बैंकहरूको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा नेपाल सरकार मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनहरू, राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय संघहरूबाट प्राप्त सुझाव, सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरूमा सन्दर्भ ब्याजदर निर्धारण गरिनेछ ।

बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यतया घटी, बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी हुनुपर्ने सिद्धान्त अवलम्बन गर्नुपर्ने नियमावलीमा व्यवस्था छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]