December 15th, 2022

ब्याजदर परिमार्जनको तयारीमा सहकारी विभाग, १९ प्रतिशत तोक्न दबाब

बैंकिङ खबर/सहकारी विभाग यतिबेला सन्दर्भ ब्याजदर परिमार्जनको तयारीम लागेको छ । राष्ट्रिय सहकारी महासंघको दबाबपछि विभागले सन्दर्भ ब्याजदर वृद्धि गर्ने आन्तरिक गृहकार्य थालेको हो । विभागअन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण समितिको प्राविधिक उपसमितिको बैठकले आइतबार ब्याजदर निर्धारणका लागि थप कार्य अगाडि बढाएको छ ।

उच्च ब्याजदरका कारण सहकारी संस्थाबाट धमाधाम निक्षेप बैंक तथा वित्तीय संस्थामा सर्न थालेको छ । फलस्वरूप सहकारी संस्थामा निक्षेपको अभाव बढ्न थालेको हो । यस्तै अवस्था रहेमा सहकारी संस्थाहरू टाट पल्टने भन्दै राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकसमेतले सहकारी विभागलाई सन्दर्भ ब्याजर वृद्धि गर्न आग्रह गरेको थियो । हाल सहकारी संस्थाको सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम गरिएको छ ।

यस्तै राष्ट्रिय सहकारी महासंघलगायतले सहकारी संस्थाको सन्दर्भ ब्याजदर १९ प्रतिशत तोक्न सहकारी विभागलाई सुझाव दिएका छन् । वर्तमान परिप्रेक्ष्यअनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई मध्यनजर गर्दै सहकारीको ब्याजदर पनि १९ प्रतिशत तोक्नुपर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]