November 28th, 2022

नीति बनाउने ठाउँमा बैंकका सञ्चालकदेखि अर्बपतिसम्म

बैंकिङ खबर/ मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा प्रत्यक्षतर्फ अर्बपति, व्यवसायीदेखि बैंकका सञ्चालसम्मले चुनाव जितेका छन् । निर्वाचनमा चर्चित उम्मेदवारहरुमध्ये कांग्रेसकातर्फबाट व्यवसायी तथा अर्बपति विनोद चौधरी (नवलपरासी पश्चिम–१), पर्यटन व्यवसायी राजेन्द्र बजगाईं (गोरखा–१), मेडिकल व्यवसायी सुनिल शर्मा (मोरङ–३), निर्माण व्यवसायी कान्छामान तामाङ (रामेछाप), जलविद्युत व्यवसायी दीपक खड्का (संखुवासभा), निर्माण व्यवसायी मोहन आचार्य (रसुवा), वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ (मनाङ), व्यवसायी मोहन बस्नेत (सिन्धुपाल्चोक–२), होटल व्यावसायी योगेश गौचन थकाली (मुस्ताङ) र शिक्षा क्षेत्रका लगानीकर्ता दुर्लभ थापा क्षेत्री (भक्तपुर) लगायत विजयी भएका छन् । यस्तै एकीकृत समाजवादीका तर्फबाट व्यवसायी किसान श्रेष्ठ (बारा–४), काठ तथा होटल व्यावसायी प्रेम आले (डोटी)ले निर्वाचन जितेका छन् ।

जसपाका वीरेन्द्रप्रसाद महतो (सिराहा–४), राप्रपाका विक्रम पाण्डे (चितवन–३), एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बु (झापा–४) ले पनि यो निर्वाचनमा आफ्नो संसदीय यात्रालाई निश्चित गरेका छन् । त्यस्तै, उद्यमी तथा स्टार्टअप व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल (काठमाडौं–६) निर्वाचित भएका छन् ।

मनाङमा कांग्रेसका उम्मेदवारसमेत रहेका वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । मनाङमा एमालेका तर्फबाट पोल्देन छोपाङ गुरुङ उम्मेदवार थिए । कालिका कन्स्टक्सन प्रालिका सञ्चालक समेत रहेका राप्रपाका विक्रम पाण्डे चितवन ३ बाट निर्वाचित भएका छन् । खनालले १४ जार २०४ मत ल्याउँदै जितेका हुन् । सो क्षेत्रमा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत र कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याएका छन् ।

एमालेबाट वैदेशिक रोजगार व्यावसायी लालप्रसाद (एलपी) साँवा लिम्बु निर्वाचित भएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट एनसीसी बैंकका सञ्चालकसमेत रहेका व्यवसायी मोहन बस्नेत निर्वाचित भएका छन् । त्यस्तै, पर्सा–३ बाट भाँडाकुँडा उद्योग सञ्चालक रहेका व्यवसायी राजकुमार गुप्ता निर्वाचित भएका छन् । उनले २४ हजार २६० मत प्राप्त गरे । यस्तै सिरहा ४ बाट जनता समाजवादी पार्टीका वीरेन्द्र महतो निर्वाचित भएका छन् । जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गर्दै जसपाका महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

संविधानसभा सदस्यसमेत रहिसकेका महतो माछापुच्छ्रे बैंकका अध्यक्ष पनि हुन् । अधिकांश व्यवसायीहरु राजनीतिक दलबाटै उम्मेदवार बनेका छन् । राजनीतिक दलहरुमध्ये सत्तारुढ नेपाली कांग्रेसले सबैभन्दा बढी निजी क्षेत्रलाई उम्मेदवार बनाएको छ । कानुन निर्माण तहमा आफ्नो उपस्थिति पु¥याई व्यावसायिक सहजीकरण र लबिङमा महत्वपूर्ण भूमिका खेल्ने गरी निजी क्षेत्र संसदीय राजनीतिमा पुगेको हो । सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट संघीय संसद्को प्रतिनिधिसभामा सबैभन्दा बढी प्रतिनिधि पुग्ने भएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल निजी क्षेत्रबाट संसदमा उत्साह जनक सहभागिता हुनु उद्यमी व्यवसायीका लागि सकारात्मक रहेको बताउँछन । उनी भन्छन्, ‘व्यावसायिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिले सम्बन्धित क्षेत्रका समस्या नजिकबाट बुझेको हुन्छ । र नीति बनाउन पनि सजिलो हुन्छ ।’