२०७३ आश्विन २४ गते

हकप्रद जारी गर्ने कम्पनी अब मर्जरमा जान नपाउने, नमान्नेलाई कारबाही

dhitopatraहकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरु अब मर्जरमा जान नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले हकप्रद सेयर निष्कासनपछि मात्र मर्जर तथा एक्विजिसनमा जाने व्यवस्था गर्न लागेको हो । धितोपत्रको दोस्रो बजारमा हकप्रद सेयर निष्कासन गर्ने भनेर चलखेल गरी मर्जर तथा एक्विजिसनमा जाने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउने तयारी गरेको बोर्डले जनाएको छ । बोर्डले दसैंलगत्तै त्यो व्यवस्था गर्ने गरी तयारी भइरहेको समेत जानकारी गराएको छ । 

बेइमानी गरेकालाई कारबाही
बोर्डले हालसम्म लगानीकर्ताप्रति बेइमानी गरेका कम्पनीलाई कारबाहीसमेत गर्ने भएको छ । करिब एक दर्जन कम्पनीले हकप्रद सेयर निष्कासन गर्छु भनेर मर्जर तथा एक्विजिसनमा जाने सम्झौता गरेको बोर्डले जनाएको छ । पछिल्लो समयमा रिलायबल डेभलपमेन्ट बैंकले सेयरधनीलाई एक सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेर ग्लोबल आइएमई बैंकमा गाभिने सम्झौता गरेको छ । रिलायबलको सन्दर्भमा नेपाल धितोपत्र बोर्डले स्पष्टीकरणसमेत मागेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ४ गुणासम्म पुँजी वृद्धिको नीति लिएपछि अधिकांशले हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएका छन् । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनका लागि मर्जर तथा एक्विजिसनको नीति लिएको थियो ।