Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विवादमा मुछिएका कृष्णकुमार श्रेष्ठ मतदातालाई प्रलोभनमा पार्दै

२०७९ कार्तिक २२ गते

काठमाडौं । बारा क्षेत्र नं. ४ मा यतिबेला चुनावी सरगर्मी बढेको छ । बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीसहित तीनजना प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)का तर्फबाट पूर्वयुवा तथा खेलकुदमन्त्री एकवाल मियाँ र नेकपा (एकीकृत समाजवादी)बाट पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) चुनावी मैदानमा छन् । दुई पूर्वमन्त्रीबाहेक बारा–४ बाट कांग्रेसका इच्छाबहादुर वाग्लेले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

विवादमा मुछिएका श्रेष्ठ

उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री श्रेष्ठ भने पटक–पटक विवादमा तानिएका छन् । उनले उम्मेदवारी दर्ता गराएकै दिन निर्वाचन आचारसंहिता विपरित बाजा बजाएर उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा बाजा रोक लगाएपनि उनले तनहुँ र सिमराको बाजा प्रयोग गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दर्ता पछि श्रेष्ठले म्यानपावरलाई प्रयोग गरेर बाराको परवानीपुरमा निर्वाचन आचारसंहिता विपरित चुनावी ब्यानरमुनी ‘फ्रि भिजा फ्रि टिकट’ भन्दै अन्तर्वार्ता राख्न लगाए । उनले मतदातालाई प्रभावित पार्ने गरी अन्तर्वार्ता राख्न लगाएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । श्रेष्ठले आयोगलाई स्पष्टीकरण बुझाईसकेका छन् ।

त्यसपछि उम्मेदवार श्रेष्ठले बाराको जीतपुरमा आयोजित एक सार्वजनिक बहस कार्यक्रममा मतदातालाई ‘सा.. भाडाका ट्टुहरु’ भन्ने शब्द प्रयोग गरे, जुन शब्दले उनि निकै आलोचित बन्न पुगे । सार्वजनिक कार्यक्रममा उनलाई राखिएको प्रश्न लगत्तै होहल्ला हुन थालेपछि उनले आक्रोशित हुँदै उक्त शब्द प्रयोग गरेका थिए । मतदातालाई भाडाको टट्टु भन्दै गर्दा यस क्षेत्रको मतदाता नामावलीमा आफ्नो नाम समेत नरहेको कुरा उनले बिर्सिए ।

यसअघि श्रेष्ठमाथी बेलायतमा ७५ हजार पाउण्ड स्टर्लिङ (हालको दरअनुसार करिब ७७ लाख नेपाली रुपैया) ठगी गरेको आरोपमा अख्तियारमा उजुरी परेको छ । श्रेष्ठविरुद्ध अख्तियारमा सी–०१४९७२ नम्बरमा उजुरी दर्ता छ । अख्तियारले उक्त उजुरी माथी कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।