
बैंकिङ खबर/ देउराली बहुउदेश्यीय सहकारी संस्थाले ठूला बचतकर्ताहरुलाई जग्गा दिन सुरु गरेको छ । वित्तीय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन ।
जसका कारण कारण उत्पन्न विवादकाबीच सहकारीले सेयर सदस्यहरुको भेला गरेर बचत फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो ।
सोही प्रतिबद्धताको कार्यन्वयन स्वरुप बचतकर्तालाई जग्गा दिने कामको सुरुवात गरिएको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाइले जानकारी दिनुभएको छ । जनताले रातदिन मिहिनत गरी जम्मा गरेको रकम जुनसुकै हालतमा फिर्ता दिनु संस्थाको दायित्व भएको चौँलागाइको भनाई छ ।
उहाँले चालु पुँजी अभावमा जग्गा दिने बचन दुई महिना अघि सदस्यहरुको भेला गरेर गर्नुभएको थियो । सहकारी समस्यामा परेपछि केदारप्रसाद चौँलागाइको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधि रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको कम्पनीले जानकारी दिएको छ ।
सबै बचतकर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समयभन्दा अगाडी नै रविन्द्र चौलागाइले ठुला बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत सुरक्षण बापत चेक हस्तान्तरण गरेका थिए ।
साना बचतकर्ताहरुलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिँदै आइरहेको छ । सहकारीले तरलता व्यवस्थापनको लागि लोन रिकभरीमा पनि सक्रिय रुपमा लागिरहेको बताएको छ । देउरालीले ठुला बचतकर्ताहरुको प्रतिनिधित्व गरेको बचतकर्ता प्रतिनिधि कमिटीले आफनै नाममा दर्ता गरेको कम्पनीमा जग्गा पास गरिसकेको हुँदा सहकारीको तरलता अभाव छिट्टै सहज हुने बताएको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ ‘हिजो जुन किसिमको अवस्था थियो त्यसलाई विस्तारै सहजताको अवस्थामा ल्याइएकोले सम्पुर्ण बचतकर्ताहरुलाई बचत रकम जुनसुकै हालमा फिर्ता हुने कुरामा विश्वास ब्यक्त गर्न चाहन्छौ । त्यसको लािग धर्यता र संयमता अपनाइ दिनु हुन विनम्र अनुरोध गर्दछौ ।’





