Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति

२०७९ कार्तिक ५ गते

बैंकिङ खबर/ केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनु पर्थ्याे । ८० रूपैयाँ बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनु पर्दा अरु महत्वपूर्ण काम छुट्थे । तर, आज त्यो अवस्था छैन ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकास तथा स्वदेशी कम्पनीहरूको आश्चर्यजनक विकासका कारण पछिल्ला दिनमा भुक्तानी प्रणालीको अभूतपूर्व विकास भएको छ। अन्य क्षेत्रका सरकारले हस्तक्षेप गरेपछि व्यापार व्यवसायमा गुणात्मक विकास भएको देखिन्छ। तर विज्ञान तथा प्रविधिको क्षेत्रमा भने निजी क्षेत्र अगाडि देखिन्छ।

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानी तथा कारोबारलाई महत्व दिएर व्यापक प्रचार–प्रसार गरेको छ। यसबाट पनि आम नागरिकलाई सहजरूपमा आफ्ना दैनिक काम कारबाहीलाई अगाडि बढाउन सहयोग पुगेको छ। कम्प्युटर, मोबाइल, कार्डजस्ता उपकरणहरूको प्रयोग गरि इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन् । विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिँदैन। त्यसकारण पैसा हराउने, चोरिने तथा अन्य कुनै पनि समस्या हुँदैन।

प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ ।    
पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षितरुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भइरहेको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालु आवको दोस्रो महिनामा मात्रै विद्युतीय माध्यम प्रयोग गरी रु ४९ खर्ब बढीको कारोबार भएको छ ।    
    
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ महिनामा मात्रै रु दुई खर्ब ९२ अर्ब ५४ करोड ५० लाखभन्दा बढी रकम कनेक्ट आइपिएसमार्फत कारोबार भएको छ । कनेक्ट आइपिएसको माध्यमबाट अघिल्लो आवको भदौ महिनामा रु दुई खर्ब ३२ अर्ब ५४ करोड ३० लाखको कारोबार भएको थियो ।    
    
त्यस्तै चालु आवको भदौ महिनामा मोबाइल बैंकिङ प्रयोग गरी रु एक खर्ब ४६ अर्ब १४ करोड ३० लाख बराबरको कारोबार भएको देखिन्छ । सो माध्यमको प्रयोग गरी अघिल्लो आवको भदौमा रु ७४ अर्ब ३१ करोड बराबरको कारोबार भएको थियो । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार गत भदौ महिनामा विभिन्न वालेट प्रयोग गरी रु १७ अर्ब ६३ करोड ५० लाखको कारोबार भएको देखिन्छ जुन अघिल्लो वर्षको भदौमा रु १४ अर्ब ४२ करोड ७० लाख बराबरको थियो ।    
    
पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ र क्युआर कोडजस्ता भुक्तानीका माध्यमबाट हुने कारोबार रकममा वृद्धि हुँदै गरेको देखिन्छ । गत आवको भदौ महीनाको तुलनामा चालु आवको भदौमा क्युआर कोड प्रयोग गरेर कारोबार भएको देखिन्छ । बैंकका अनुसार गत आवको भदौमा रु पाँच अर्ब ८५ करोड ७० लाख बराबरको भुक्तानी भएको थियो भने चालु आवको भदौ मसान्तसम्ममा रु १५ अर्ब दुई करोड ८० लाख बराबरको भुक्तानी भएको छ ।    
    
त्यस्तै भदौमा इन्टरनेट बैंकिङमार्फत रु १२ अर्ब १९ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ । गत भदौमा यसको प्रयोग गरी रु १३ अर्ब ५० करोड चार लाखभन्दा बढीको कारोबार भएको थियो । यसअनुसार अघिल्लो आवको समीक्षा महिनाभन्दा चालु आवको भदौमा इन्टरनेट बैंकिङको प्रयोगबाट हुने कारोबार रकममा भने रु एक अर्ब ३१ करोडले कमी आएको छ ।यसैगरी गत आवको भदौमा एटिएमको प्रयोगबाट रु ७० अर्ब १३ करोड बराबरको कारोबार भएकामा चालु आवको भदौमा कारोबार वृद्धि भई रु ७५ अर्ब ७४ करोड ६० लाख पुगेको छ ।

केन्द्रीय बैंकले कालिमाटी तरकारी तथा फलफूल बजारका अतिरिक्त देशका प्रमुख तरकारी बजार, डिपार्टमेन्टल स्टोर तथा अन्य सार्वजनिक स्थानमा क्यूआर कोडको प्रयोगलाई बढावा दिन नियमित अभियान नै चलाएको छ। क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ। खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा समेत क्यूआर कोड प्रयोगमा वृद्धि हुँदै आएको छ।

नगदरहित कारोबारलाई बढावा दिँदै जाने केन्द्रीय बैंकको योजना छ। गभर्नर महाप्रसाद अधिकारीले यो अभियानलाई महाअभियानको सङ्ज्ञा दिएका छन्। केन्द्रीय बैंकले आव २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षका रूपमा मनाउने लक्ष्य राखेको छ। त्यसका लागि चालु आवमा आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिने लक्ष्य छ।

बैंक तथा वित्तीय संस्थामा कर्जाको आवेदनदेखि स्वीकृति गर्नेसम्मको प्रक्रियालाई विद्युतीय माध्यमबाट हुने व्यवस्थाका लागि सहजीकरण गर्न डिजिटल कर्जा मार्गदर्शन तर्जुमा गरि कार्यान्वयनमा ल्याउन लागिएको छ। नेपाल विद्युत् प्राधिकरणले महसुल भुक्तानीमा केही वर्ष पहिलेदेखि नै विद्युतीय प्रणाली सुरुआत गरिसकेको छ। काठमाडौँका अधिकांश वितरण केन्द्रको महसुलमध्ये झण्डै ५० प्रतिशत हिस्सा विद्युतीय प्रणालीमार्फत हुने गरेको छ। खानेपानीको बिलदेखि हवाई टिकट खरिदसम्म विद्युतीय माध्यमबाटै हुने गरेको छ। सरकारको राजश्वदेखि अन्य दैनिक उपभोग्य सामग्रीको खरिदमा समेत विद्युतीय भुक्तानीको मात्रामा बढोत्तरी भएको छ। नगद नै नभए पनि जीवन सहजरूपमा चलाउन सकिने अवस्था सिर्जना भएको छ। घर, कार्यालय वा आफूलाई आवश्यक परेको स्थानमा मोबाइलबाटै खाना तथा खाजासमेत मगाउन सकिने सहज वातावरण सिर्जना भएको छ।

कनेक्ट आइपिएसमार्फत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राहदानी तथा ट्राफिक प्रहरीको जरिवाना तिर्न सकिन्छ। यस्तै सवारीसाधन खरिद, शेयरबजार कारोबार, बीमाशुल्क तथा इन्टरनेटको बिल, मोबाइल टेलिफोनको बिल तथा वालेटमा समेत पैसा राख्न सकिन्छ।