
बैंकिङ खबर/ सहकारीबाट ऋण मिलाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका १ कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणी कुमार थापा रहेका छन् ।
थापाले आफू काठमाडौं महानगरपालिका ३ बाँसवारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको संचालक भएकोले उक्त सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाईदिन्छु भनी विश्वास दिलाई उक्त ऋण रकमको १० प्रतिशतले हुन आउने ३ लाख रुपैयाँ र सेवा शुल्क बापत १२ हजार रुपैयाँ गरी जम्मा ३ लाख १२ हजार रूपैयाँ लिएको बताइएको छ ।
यस्तै उनले उक्त ऋण उपलब्ध नगराई ठगी गरी फरार रहेको भन्ने सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त भएपश्चात अनुसन्धानको क्रममा उल्लेखित बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको पाइएकोले मणी कुमारको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।


