
बैंकिङ खबर/ आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको क्षेत्र नं. १ मा दुई अर्थविज्ञबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।
अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाउनुभएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार हुनुभएका पौडेल अहिले प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार बन्नुभएका पौडेललाई बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले समर्थन गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा दुई पटक पाण्डे निर्वाचित हुनुभएको छ । अहिले उहाँको तेस्रो कार्यकालको लागि चुनावी प्रतिस्पर्धा भएको छ ।
उहाँको कार्यकालमा विकासका योजना ल्याएको र इतिहासलाई हेर्दा यस क्षेत्रमा एमालेको वर्चस्व भएकाले कांग्रेसका उम्मेदवारलाई जित हासिल गर्न चुनौती देखिएको छ । २०७४ सालमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याउनुभएको थियो ।
२०७४ सालमा भारी मतले विजयी भएका पाण्डे अहिले एमालेको जनमत झन् बढेको उहाँको भनाइ छ । यस पटक पाण्डेलाई अर्का अर्थविद् कांग्रेसका उम्मेदवार पौडलको चुनौती छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पद छाडेर निर्वाचनमा होमिनुभएका पौडेल राष्ट्र निर्माणको योजना बनाउन सक्ने क्षमता आफूमा भएको दाबी गर्नुहुन्छ ।
एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसको मतले आफ्नो जित सुनिश्चित भएको उहाँले बताउनभयो । युवा र नयाँ अनुहारको खोजी भएका मतदाताका लागि पौडेल विकल्पका उमेदवार हुन् । देउवा निकटका पौडेलले सजिलै टिकट ल्याएका कारण यस क्षेत्रका पुराना र स्थानीय तहमा राजनीति गरेर आएकाहरूमा असन्तुष्टि देखिन्छ।




