Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तरलता अभाव केहि सहज हुने संकेत

२०७९ कार्तिक १ गते

बैंकिङ खबर/ गत वर्षबाटै देखिएको तरलता अभाव केहि सहज हुने संकेत देखिएको छ । पछिल्लो केहिदिनयता सिडी रेसियो, अन्तरबैंक ब्याजदर र एसएलएफजस्ता सूचक साउन–भदौको तुलनामा असोजमा सकारात्मक देखिएको छ ।

आर्थिक वर्षको सुरुवातदेखि नै लगानीयोग्य पुँजीको अभाव भोगेको वित्तीय प्रणालीमा केहि सकारात्मक संकेत देखिन थालेको छ । गत असारको तुलनामा वित्तीय प्रणालीमा तरलताको सूचक कमजोर देखिए पनि साउन र भदौको तुलनामा असोजको सूचक सकारात्मक देखिएको पूर्व बैंकर्स पर्शुराम कुँवर क्षत्री बताउनहुन्छ ।

उहाँ अनुसार साउन र भदौको तुलनामा निक्षेपमा वृद्धि भएकाले बैंकहरू लगानी गर्न सक्ने सहज स्थितिमा पुग्ने संकेत मिलेको छ । बैंकिङ प्रणालीमा तरलताको अवस्थालाई प्रतिनिधित्व गर्ने प्रमुख सूचक हो, कर्जा निक्षेपको अनुपात । नेपाल राष्ट्र बैंकले यस्तो अनुपात ९० प्रतिशतभन्दा बढ्न नपाउने प्रावधान गरेको छ । ३१ साउनमा वाणिज्य बैंकहरूको यस्तो औसत अनुपात ८८.०७ प्रतिशत पुगेको थियो । नेपाल बैंकर संघका अनुसार २८ असोजसम्म बैंकहरूमा यस्तो अनुपात ८६.९८ प्रतिशत पुगेको छ । यसले बैंकहरूमा कर्जा लगानी गर्न सक्ने क्षमतामा वृद्धि भएको बुझाउँछ ।

यसले बैंकहरू डेढ खर्बभन्दा बढी कर्जा दिने अवस्थामा पुगेको देखाउँछ । संघका अनुसार ३१ भदौदेखि २८ असोजसम्म ३३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थपिएको छ । त्यस्तै, कर्जा प्रवाह दुई अर्ब ९६ करोड रुपैयाँ मात्रै छ । कर्जाको तुलनामा निक्षेप संकलनमा भएको वृद्धिले कर्जा निक्षेप अनुपात घटेको हो ।

कर्जाको तुलनामा निक्षेप संकलन बढ्न नसकेपछि बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लिने गरेका छन् । अहिले एसएलएफ ८३ अर्बमा सीमित भएको छ । असारमा त बैंकहरूले एसएलएफ र रिपो गरेर दुई खर्ब ४७ अर्ब रुपैयाँसम्म लिएका थिए । तरलता मापन गर्ने अर्को सूचक हो, अन्तरबैंक ब्याजदर । निक्षेपको अभाव भएपछि बैंकहरूले एक–आपसमा कर्जा लिने गरेका छन् । जसको ब्याजदरलाई अन्तरबैंक ब्याजदर भनिन्छ ।

विगतमा एसएलएफको दरकै हाराहारीमा पुगिसकेको यो दर आइतबारसम्म आइपुग्दा ८.४७ प्रतिशतसम्म पुगेको छ । बजारमा तरलताको अभाव हुन थालेपछि यस्तो निक्षेपको माग बढ्ने र ब्याजदरसमेत बढ्ने गरेको छ । मासिक तुलनामा सहजता देखिए पनि बैंकहरू पूर्ण रूपमा कर्जा लगानी गर्न सक्षम नभइसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि वित्तीय प्रणालीमा एक खर्ब ७१ अर्ब तरलता अपुग छ ।

दसैँमा सरकारी खर्चमा समेत वृद्धि भएकाले तरलता व्यवस्थापनमा केही सहजता देखिए पनि तरलता व्यवस्थापनमा अझै जोखिम देखिएको उहाँको भनाइ छ ।

बैंकिङ तरलता के हो ?

कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।

तरलताको आवश्यकता किन पर्छ ?
मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यसैले, कमजोर तरलताले धेरै किसिममा समस्या निम्त्याउन सक्छन् ।

तरलता मूल्याङ्कनको परम्परागत विधि
व्यावसायिक इकाइहरूले तरलताको अवस्था मूल्याङ्कका लागि दुई मुख्य आधारहरूलाई लिने गरेका छन् । यी आधारहरूमध्ये एक चालू अनुपात वा करेण्ट रेसियो हो भने अर्को क्विक रेसियो । करेण्ट रेसियो कुल चालू सम्पत्तिलाई कुल चालू दायित्वले भाग गरेर निकालिन्छ । चालू सम्पत्ति भन्नाले ती सम्पत्तिलाई बुझाउँछ, जुन १ वर्ष वा १ कार्य वर्ष ९जुन समयावधि लोमो हुन्छ०भित्र रकममा परिवर्तन गर्न सकिन्छ । चालू सम्पत्तिमा नगद, बैङ्कमा रहेको नगद मौज्दात, प्राप्त हुनुपर्ने रकमहरू ९एकाउण्ट रिसिएबल०लगायत पर्छन् । त्यसैगरी, चालू दायित्व भनेको त्यस्ता तिरोहरू हुन्, जुन १ वर्ष वा १ कार्य वर्षमा भुक्तान गरिसक्नुपर्छ । सिद्धान्ततः २ बराबर १ अनुपातमा रहने करेण्ट रेसियो सन्तोषजनक र राम्रो मानिन्छ । यसले चालू दायित्वको तुलनामा कम्पनीको चालू सम्पत्तिमा दोब्बर बढी पूँजी रहेको देखाउँछ । यद्यपि, व्यावहारिक दृष्टिकोणले कम्पनीको स्तरीयताको आधारमा तरलताको मूल्याङ्कन हुनुपर्ने सुझाव दिइन्छ ।

करेण्ट रेसियोको तुलनामा क्विक रेसियो तरलता मूल्याङ्कनका लागि अझ बढी उपयोगी मानिन्छ । करेण्ट रेसियोको मूल्याङ्कनमा हुने मुख्य त्रुटि भनेकै यसले इन्भेण्ट्री र अग्रिम चुक्ता खर्चलाई पनि तरलताको मूल्याङ्कनको क्रममा प्रयोग गर्छ । जब कि, वास्तवमा यी दुईलाई तरल सम्पत्तिको रूपमा कमै लिइन्छ । यी दुईलाई क्विक रेसियोमा प्रयोग गरिँदैन । किनकि, क्विक रेसियो तरल सम्पत्तिलाई चालू दायित्वले भाग गरेर निकालिन्छ । इन्भेण्ट्री र अग्रिम चुक्ता खर्चबाहेकका चालू सम्पत्तिलाई मात्र तरल सम्पत्तिको रूपमा क्विक रेसियोले हिसाब गर्छ । क्विक रेसियो १ भए राम्रो मानिन्छ । तर कम्पनीको स्तरीयताको आधारमा तरलताको मूल्याङ्कन गर्ने कुरा भने ध्यानमा राखी राख्नुपर्दछ ।

तरलता मूल्याङ्कनको वैकल्पिक विधि
परम्परागत मूल्याङ्कन विधिलाई मात्र लगानीकर्ताले अनुसरण गर्नु हुँदैन । तरलताको मूल्याङ्कनमा वैकल्पिक विधिलाई पनि प्रयोग गर्नु राम्रो हुन्छ । यसका लागि दीर्घकालीन ऋणबाट खुद स्थिर सम्पत्ति घटाएपछि खुद सञ्चालन पूँजीले भाग गरेर तरलता निकालिन्छ ।

दीर्घकालीन ऋण चुक्तापूँजी र ननकरेण्ट लायबिलिटिज जोडेर निकालिन्छ । खुद स्थिर सम्पत्ति निकाल्न कुल स्थिर सम्पत्तिबाट सञ्चित ह्रासकट्टी खर्च घटाएर निकालिन्छ । खुद सञ्चालन पूँजी कुल चालू सम्पत्तिबाट कुल चालू दायित्व घटाएर निकालिन्छ । नगद मौज्दातलाई कुल चालू सम्पत्तिको रूपमा भने लिइँदैन । दीर्घकालीन ऋण भने खुद स्थिर सम्पत्तिभन्दा धेरै हुनुपर्छ भने कुल चालू सम्पत्ति (नगद मौज्दातबाहेक) पनि कुल चालू दायित्वभन्दा धेरै हुनुपर्छ ।

केही भने क्यास रेसियोबाट पनि तरलताको मूल्याङ्कन गर्छन् । क्यास रेसियो कुल नगद र नगदजस्तै क्यास सम्पत्तिको योगलाई कुल चालू दायित्वले भाग गरेर निकालिन्छ । तर पनि तपाईंको विश्लेषण यतिमै मात्र सीमित भने हुनुहुँदैन । यदि कुनै कम्पनी तरलता समस्यामा रहेको छ भने यस्तो किन भएको छ र यसमा कसरी अघि बढ्न सकिन्छ, हेर्नुपर्ने हुन्छ ।