
बैंकिङ खबर/ बैंकिङ कसुरकै कारण रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङलाई निर्वाचन आयोगले कारबाही गरेको छ । आयोगले उनको उम्मेदवारी खारेज गरेको छ ।
अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो ।
विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार बेलुकी निकालेको विज्ञप्तिमा गुरूङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए ।
गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो ।
गुरुङसहित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जित विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो ।
काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो ।
गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो।
गुरुङहरूको उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख, चैत १५ गते २४ लाख, चैत ३० गते ५४ लाख, २०७४ वैशाख १५ गते २५ लाख, वैशाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रूपैयाँ गरी ७ वटा चेक दिएकामा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरूविरूद्ध उजुरी परेको थियो।




