Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

उद्यमशिलता र विकासमा समर्पित भगवती चौधरी

२०७९ आश्विन २४ गते

बैंकिङ खबर/ नेपालको उद्यमशिलता र विकासमा समर्पित एक हस्ति हुनुहुन्छ भगवती चौधरी ।  चौधरीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभातर्फ  उम्मेदवारी दिनुभएको छ ।

उहाँले आइतबार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको हो । मनोनयनपत्र दर्ता गर्दै उहाँले सुनसरीमा ३० वर्षमा नभएको विकास ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ यो निर्वाचनमा सुनसरी ३ का जनताले ऐतिहासिक निर्णय गर्नेछन् । परिवर्तनको पक्षमा मतदान गर्नेछन् ।’

नेकपा एमालेकी नेतृ एवम् पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी चौधरी वि.स २०२८ वैशाख २ गते सुनसरीमा जन्मिनुभएको थियो । राजनीतिक पृष्ठभूमिमा हुर्किनुभएकी भगवतीका हजुरबुवा कुमहरलाल चौधरी वडाध्यक्ष हुनुहुन्थ्यो भने बुबा डेमोक्रयाटिकका समर्थक हुनुहुन्थ्यो । जसले गर्दा उहाँलाई समाजसेवा र राजनीतिमा प्रवेश गर्न सहज भयो ।

मधेसी समुदायमा चौधरीको परिवार सामाजिक, आर्थिक रूपमा मजबुत थियो । सुनसरी तत्कालिन औराबनी गाविस ३ मा भगवती चौधरीका हजुरबुबा कुमहर लाल चौधरीलाई सबैलाई इज्जत गर्दथे । खेतीपातीले राम्रोसँग खान पुग्थ्यो । गाउँमा छोरीलाई विद्यालय पठाउनुहुन्न भन्ने सोचले चौधरी समाजमा जरा गाडेको थियो ।

उहाँका हजुरबुबा र बुवा विरन लालचौधरी र आमा लिटिया देवी थरुनी चौधरी आफ्ना सन्तानलाई उचित शिक्षा दिक्षा दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँहरूको यो सपनालाई सामाजिक विभेदले रोक्न सकेन । भगवती चौधरीलाई विद्यालय पठाएर परिवारले एक किसिमले सामाजिक विद्रोह नै गरेका थियो ।

चौधरी समुदायमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने अन्धविश्वासले जरा गाडेको अवस्थामा पनि भगवतीले २०४४ सालमा गाउँकै सरस्वती उच्च माध्यमिक विद्यालय औरावनी सुनसरीबाट एसएलसी दिनुभयो । त्यसपछि उहाँले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट उच्च शिक्षा हासिल गर्न थाल्नुभयो । चौधरी आफ्नो टोलमा क्याम्पस जाने पहिलो महिला समेत हुनुहुन्थ्यो ।

महेन्द्र मोरङ क्याम्पसमा ०४६ सालको जनआन्दोलनमा भाग लिनुभएकी चौधरीले ०४८ सालमा पार्टीको सदस्यता लिनुभएको थियो । त्यसपछि उहाँ राजनीतिकै क्रममा पहिलो संविधानसभा २०६४ मा प्रतिनिधिसभा सदस्य बन्नुभयो । त्यसपछि वन तथा भू–संरक्षण मन्त्रालयको राज्यमन्त्री बनेर काम गर्ने अवसर पाउनुभयो ।

देशको मूल नीति नै राजनीति भएकाले यसैबाट धेरैभन्दा धेरै नागरिकको जीवनस्तर उकास्न सकिन्छ भन्ने उहाँको मान्यता रहेको थियो । जुन अहिले पनि कायम छ । राज्य कोषबाट लगानी गरेर देखिने गरी विकास निर्माण लगायतका काम गर्न सकिने भएकाले पनि उहाँले राजनीतिक यात्रा तय गर्नुभएको हो । एक व्यक्ति वा संस्थाले सिमित क्षेत्र अथवा परिवेशका लागि काम गर्न सक्छ, धेरैभन्दा धेरै नागरिकलाई लाभान्वित बनाउनका लागि राज्य कोषबाट नै खर्च गरेर मासबेसमा देखिने गरेर काम गर्न सकिने भएकाले राजनीतिक तर्फ उहाँको यात्रा अगाडि बढिरहेको छ ।

भगवती चौधरी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) सुनसरीकी अध्यक्ष हुनुहुन्छ । यस्तै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लि। सुनसरीको पनि अध्यक्ष हुनुहुन्छ । फरवार्ड बचत तथा ऋण सहकारी संस्था सुनसरीका संस्थापक अध्यक्ष, फरवार्ड इन्टरप्राइजेज सुनसरीको म्यानेजिङ डाइरेक्टर भएर काम गरिसक्नुभएको छ ।

उहाँको संघर्षको योगदान स्वारुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइ सक्नुभएको छ । उहाँले संविधानसभा सदस्य पदक, २०६५ पाउनुभएको थियो । भगवती चौधरीले लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशीलताको बाटोमा डोहो¥याउनु भएको छ । उहाँले लघुवित्तमार्फत ग्रामीण अर्थतन्त्र तथा माइक्रो लेवलको उद्यमशीलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

दुरदराजमा रहेको संघसंस्थाले पनि कुनाकाप्चामा रहेका विपन्न समुदायको घरपरिवार वा समुदायलाई वित्तीय पहुँच पु¥याउन फरवार्डको स्थापना भयो । जसले गर्दा हाल धेरै महिलाहरुलाई उद्यमशीलता बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।