Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

धमाधम मर्जरमा जाँदै सहकारी : थप दशबीच एकीकरण सम्झौता

२०७९ आश्विन ७ गते

बैंकिङ खबर/ उपत्यकाभित्र संचालित दश वटा सहकारी संस्थाबीच एकीकरण हुनेभएको छ । काठमाडौं र ललितपुर जिल्लामा रहेका चार वटा बहुउद्देश्यीय र छ वटा बचत तथा ऋण सहकारी संस्थाबीच  बिहीबार एकीकरणका लागि सम्झौता भएको हो ।

काठमाडौंको न्यूरोडमा रहेको नैतिक बहुउद्देश्यीय सहकारी संस्था, हर्षित बहुउद्देश्यीय सहकारी संस्था, सामाखुशीको श्री ज्योति बहुउद्देश्यीय सहकारी संस्था, कालीमाटीको अम्वेश्वरी बचत तथा ऋण सहकारी संस्था (साकोस), चावहिलको क्लियर साकोस, पेप्सीकोलाको गुडलक साकोस र कालीमाटीको गोल्डेन रोज साकोसबीच एकीकरण सम्झौता भएको हो ।

यसैगरी ललितपुर जिल्लाको कुमारीपाटीमा संचलित शाईन बहुउद्देश्यीय सहकारी संस्था, नयाँ तारा साकोस र जावलाखेलको श्री पिनाकल साकोसले पनि एकीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एकीकरण पछि बन्ने नयाँ संस्थाको एकीकृत शेयर पुँजी १० करोड ७१ लाख ११ हजार ८ सय रुपैयाँ, कुल कारोबार १ अर्ब ६ करोड ४५ लाख २० हजार ६ सय १७ रुपैयाँ, कर्जा लगानी ८३ करोड ४५ लाख ४३ हजार ८ सय १० रुपैयाँ र तरलता १७ प्रतिशत कायम हुनेभएको छ । यस्तै ७ हजार जना भन्दा बढी शेयर सदस्य आवद्ध हुने संस्थाको कोषमा ३ करोड ७८ लाख ७७ हजार ५ सय ६४ रुपैयाँ मौज्दात रहनेभएको छ ।

एकीकरण पश्चात बन्ने नयाँ संस्थाको नाम शाईन बचत तथा ऋण सहकारी संस्था प्रस्ताव गरिएको छ । हाल गोल्डेन रोज साकोस रहेको काठमाडौंको कालीमाटीस्थित कार्यालयलाई केन्द्रीय कार्यालयकोरुपमा प्रयोग गर्ने सहमति भएको छ । साथै कुमारीपाटी, कालीमाटी, सामाखुशी, चावहिल, पेप्सिकोला र कोटेश्वरमा सदस्य सेवाकेन्द्र स्थापना गरेर सेवा प्रवाह गर्ने जनाईएको छ । प्रस्तावित शाईन बचत तथा ऋण सहकारी संस्थामा सूर्य बहादुर राईको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति गठन हुनेभएको छ ।

संस्थाको उपाध्यक्षमा अमिर राज ओली, सचिवमा सन्देश राई र कोषाध्यमा सन्तोष अछामी रहने सहमति भएको छ । समितिमा युवराज बोहरा, सुमित्रा श्रेष्ठ र राजेश तामाङलाई सदस्यको जिम्मेवारी दिईएको छ । यसैगरी तेज बहादुर बोहोराको संयोजकत्वमा गठन हुने तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको सदस्यमा मनोज बस्नेत र कृष्ण प्रसाद बजगाई रहनुभएको छ । एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रकाश कुँवरलाई दिने सहमति भएको छ ।