
बैंकिङ खबर/ सहकारी विभागले सहकारी संस्था समस्यामा पर्दा पदीय हैसियतबाट पन्छिन खोज्ने सहकारी सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई सचेत गराएको छ । विभागले सहकारी संस्थाहरुको नाममा एक निर्देशन जारी गर्दै सञ्चालक र सुपरिवेक्षण समिति अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भन्दै सचेत गराएको हो ।
‘सहकारी संघसंस्था सदस्यहरुको लोकतान्त्रिक प्रणालीबाट सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति छनोट भई नियमित र निरन्तर रुपमा सञ्चालन हुने संस्था हो,’ विभागले जारी गरेको निर्देशनमा भनिएको छ, ‘संस्था राम्रैसँग सञ्चालन हुँदा संस्थागत संलग्नताको पदीय हैसियतसहित आफूलाई परिचय गराउने तर संस्थामा केही समस्या देखिनासाथ सञ्चालक समितिमा त्यत्तिकै राखिदिएछन्, सञ्चालक समितिको सदस्य भएपनि मलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनी जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको देखिन्छ भने केहीले जिम्मेवारीबाट अलग गराइ पाँउ भनि विभागमा आउने गरेको पाइन्छ।’
सहकारी संघसंस्थाहरु सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति र सम्पूर्ण सेयर सदस्य समेतको सामूहिक जिम्मेवारीमा रहने संस्था भएको रहेको भन्दै सञ्चालकहरुले अध्यक्ष र व्यवस्थापकलाई जिम्मेवारी पन्छाएर उम्किन खोज्नु गलत भएको बताएको छ ।
‘प्रत्येक सञ्चालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भएकोले प्रत्येक सञ्चालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्थाको र सदस्यको वृहत्तर हितमा केन्द्रित रहनुपर्छ’ निर्देशनमा भनिएको छ । संस्थालाई बलियो बनाउन सामूहिक प्रतिबद्धताका साथ कार्यसम्पादन गराउन विभागले निर्देशन दिएको छ ।





