
विद्युतीय माध्यममार्फत भुक्तानीसम्बन्धी कारोबार गर्ने संस्था, स्वदेशमा मनी ट्रान्सफर गर्ने कम्पनी, वस्तु र सेवाको बिल भुक्तानी गर्ने उद्देश्यले स्थापना भएका संस्था र यस प्रयोजनका लागि उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध रहने संस्थालाई भुक्तानी सेवा प्रदायक भनिने राष्ट्र बैंकले जनाएको छ ।
भुक्तानी सेवा प्रदायकहरूले बैंकिङ प्रणालीअन्तर्गतको क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक रकमान्तरलगायतका भुक्तानी स्वीकार गरी अनलाइन सेवा प्रदान गर्ने गर्दछन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूसँग सम्झौता गरी विद्युतीय कारोबारमा संलग्न रहेका, विद्युतीय माध्यमबाट भुक्तानी कारोबार सञ्चालन गर्ने, ग्राहक तथा सेवाप्रदायकको बीचमा मध्यस्थता गरी वस्तु र सेवाको भुक्तानी गर्ने, स्वदेशमा मनी ट्रान्सफर गर्ने, दूरसञ्चार सञ्जालमार्फत विद्युतीय कारोबार गर्ने तथा तोकिएका अन्य भुक्तानी प्रदायकको कार्य गर्ने संस्था यसअन्तर्गत रहनेछन् ।
हाल नेपालमा भुक्तानीसँग सम्बन्धित ३८ ओटा संस्थाले अनुमति लिएका छन् । त्यसमध्ये २८ ओटा भुक्तानी सेवाप्रदायक र १० ओटा भुक्तानी प्रणाली प्रदायक रहेका छन् ।



