Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बढ्दो मोबाइल बैंकिङ कारोबार

२०७९ भाद्र १३ गते

बैंकिङ खबर/ नेपालमा पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबारमा वृद्धि हुँदै गएको पाइएको छ । केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणमा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिनुभएको थियो ।

अधिकारीको पहलमा विभिन्न तरकारी बजारदेखि सार्वजनिक स्थानमा क्यूआर कोडबाट भुक्तानीको व्यवस्था लागुभएसँगै डिजिटल कारोबारमा वृृद्धि हुन थालेको हो ।

प्रविधिको प्रयोग अन्तर्गत पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सञ्चालन भएका तरकारी बजार, मन्दिर तथा अटोरिक्सा लगायत धेरै स्थानमा क्विक रेपोन्स (क्यूआर) कोड जडान भइसकेका छन् । तरकारी बजारबाट सुरु भएको डिजिलट भुक्तानी अवधारण अनुसार अधिकाशं सार्वजनिक स्थानमा विभिन्न सेवा प्रदायक कम्पनीले क्यूआर कोड जडानलाई तिव्रता दिदैँ आएका छन् ।

नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असारको एकै महिनामा २ करोड ५ लाख ६४ हजार ३०८ पटक मोबाइल बैंकिङ कारोबार भएको थियो । त्यसबाट १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँको कारोबार भएको विभागले जनाएको छ ।

२०७७ साउनमा मोबाइल बैंकिङको माध्यमबाट ५९ लाख २३ हजार ४११ वटा कारोबारमार्फत १८ करोड ३९ लाख ३० हजार रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । मोबाइल बैंकिङ मात्र नभई कनेक्ट आईपीएस र वालेटबाट हुने आर्थिक कारोबार पनि उल्लेख्य रुपमा बढेको देखिन्छ । २०७९ साउनमा वालेटको माध्यमबाट हुने कारोबार संख्या डेढ करोडभन्दा माथि पुगेको छ । साउनमा वालेटको माध्यमबाट १ करोड ६२ लाख ६ हजार ३५६ कारोबारमार्फत १७ अर्ब ७५ करोड २० लाखको कारोबार भएको छ ।

२०७७ साउनमा १ करोड १ लाख ७७ हजार ८८९ कारोबार मार्फत ७ अर्ब ७५ करोड ९० लाखको कारोबार भएको थियो । २०७७ साउनमा कनेक्ट आईपीएसबाट ६ लाख ३३ हजार १३४ वटा कारोबारबाट ४७ अर्ब ३६ करोड ७० लाखको कारोबार भएकोमा २०७९ असारमा ४२ लाख ७० हजार ९९ कारोबारबाट ३ खर्ब ६९ अर्ब २२ करोड ३ लाखको कारोबार भएको छ । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम आरटीजीएसबाट २०७९ असारको एक महिनामै ४३ खर्ब ४९ अर्बको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार कुल ८१ हजार ८१७ वटा कारोबारमार्फत उक्त रकमको कारोबार भएको हो । आरटीजीएसबाट २०७७ साउनमा ३४ हजार ६१६ वटा कारोबारमार्फत १२ खर्ब २४ अर्बको कारोबार भएको छ ।

नेपाल क्लियरिङ हाउसका अनुसार इलेक्ट्रोलीक चेक क्लियरिङको माध्यमबाट २०७९ को असारमा मात्र १४ लाख ८६ हजार ५५१ वटा कारोबार मार्फत ८ खर्ब ५१ अर्बको कारोबार भएको छ । जुन २०७८ असारमा १४ लाख ४० हजार ४७२ वटा कारोबारमार्फत ९ खर्ब ८८ अर्ब र २०७७ साउनमा १० लाख ३९ हजार ३३० वटा कारोबार मार्फत ६ खर्ब ५७ अर्बको कारोबार भएको थियो ।

यस्तै आईपीएसको माध्यमबाट २०७७ साउनमा ३ लाख ४७ हजार ८५४ वटा कारोबार मार्फत १ खर्ब ५६ अर्बको कारोबार भएको थियो । यस्तै २०७८ असारमा ११ लाख ६४ हजार ४८१ वटा कारोबार मार्फत २ खर्ब ९९ अर्बको कारोबार भएको थियो । तर, २०७९ असार मसान्तमा कारोबार संख्या बढेर १३ लाख २२ १७४ पुगेपनि कारोबार रकम भने २ खर्ब ७६ अर्बमा झरेको छ ।

राष्ट्र बैंकका अनुसार, २०७७ साउनमा वालेट युजरको संख्या ६२ लाख ७४ हजार १२९ रहेकोमा २०७९ असारमा १ करोड ३६ लाख ७५ हजार ९९३ पुगेको छ । त्यस्तै, मोबाइल बैंकिङ युजर पनि २०७७ साउनमा १ करोड १४ लाख ६४ हजार ८६७ रहेकोमा २०७९ साउनमा बढेर १ करोड ८३ लाख ७ हजार २५५ पुगेको छ । सोही अवधिमा इन्टरनेट बैंकिङ युजर १० लाख ४५ हजार ५५८ बाट बढेर १६ लाख ८४ हजार ३१० पुगेको छ । त्यस्तै, कनेक्ट आईपीएस युजर ५ लाख ३५ हजार ६१५ बाट बढेर ८ लाख ९६ हजार ३३४ पुगेको छ ।

मोबाइल बैंकिङ के हो ? केके छन् सुविधाहरु

Mobile banking concept

प्रविधिको द्रुतत्तर विकाससंगै नेपालका बैंकहरुले विकसित अन्तर्रा्ष्ट्रिय बैंकिङ प्रणालीमा प्रयोग भएको ट्यावलेट बैंकिङ समेत प्रयोगमा ल्याइसकेका छन् । बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ ।

मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तीय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् ।

एसएमएस बैंकिङ
०६१ सालबाट एसएमएस बैंकिङ सुरुवात भयो । यस्को सुरुवात लक्ष्मी बैंकले गर्यो । यो मोबाइल अर्थात ट्याबलेट बैंकिङकै एउटा रुप हो । यो सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई एसएमएसमार्फत उनीहरुको खाताको बारेमा जानकारी दिने गर्दछन् । एसएमएस बैंकिङबाट पैसाको कारोबार (लेनदेन) पनि गर्न सकिन्छ ।

मोबाइल वलेटको सुरुवात

मोबाइल बैंकिङकै रुपमा पछिल्लो समय नेपाल भित्रिएको प्रविधि हो मोबाइल वलेट । नेपाल राष्ट्र बैंकको अनुमतिमा आईएमई पे, प्रभु टेक्नोलोजी र इसेवा फोन पेले यो सेवा सुरु गरेका छन् । आईएमई र ईसेवाले पेमेन्ट सर्भिस प्रोभाइडर(पीएसपी)को र प्रभु टेक्नोलोजीले पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) को अनुमति पाएका छन् ।

भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट (ग्राहक र सेवाप्रदायकको बीचमा मध्यस्तता गरी भुक्तानी गरिदिने र स्वदेशमा गरिने मनि ट्रान्स्फर गर्ने) कार्य गर्न भुक्तानी तथा फछर्यौट अनुमति नीति–०७३ बमोजिम अनुमति पाएका कम्पनीहरुले मोबाइल वालेटको कारोबार गर्नेछन् ।

के हो मोबाइल मनी ?

मोबाइल मनी भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । । मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् ।

यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ ।

यसरी सुरु भयो मोबाइल मनीको अवधारणा

मोबाइल मनीको अवधारणा सबैभन्दा पहिला केन्यामा प्रयोग भएको थियो । सन् २००७ को मार्च महीनामा बेलायती दूरसञ्चार कम्पनी भोडाफोनको केन्याली सहायक कम्पनी सपारीकमले त्यहाँ एम–पेसा सेवा लञ्च गरेको थियो । सफारीकमले एक दशकअघि शुरूमा प्रयोगकर्ताहरूबीच ससानो रकम भुक्तानीका लागि मात्रै यो सेवा शुरू गरेको थियो । तर पछि यसमा फाइनान्सिङ र माइक्रोफाइनान्सिङको सुविधा पनि दिइयो ।

हाल यो सेवामा सीमापार रकम स्थानान्तरण, कर्जा र स्वास्थ्य प्रावधान समेत समाविष्ट छ । अहिले यो सेवा करीब ८० प्रतिशत केन्यालीहरूले प्रयोग गरिरहेका छन् । त्यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २५ प्रतिशतभन्दा बढी यही सेवामार्फत प्रवाह हुने गरेको छ ।  केन्यापछि अफगानिस्तान, दक्षिण अफ्रिका, भारत हुँदै हाल विश्वका थुप्रै मुलुकहरुमा मोबाइल मनी विस्तार भइसकेको छ ।

केके छन् सुविधा ?

क्यास लेस ट्रान्जेक्शनको आवश्यकतालाई यसले सहजिकरण गर्ने छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई यो प्रविधिले अन्त्य गर्ने विश्वास लिइएको छ ।  अहिले एटिएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने अबस्था छ । तर मोवाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यबस्था भित्राउने छ । जसबाट अब नेपालमा पनि मोवाइलमै पैसा बोकेर हिड्न मिल्ने भएको छ ।

तपाईको मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नुहुन्छ । यो सेवाका लागि करिव १ बर्षदेखि राष्ट्र बैंकले होमवर्क गरेको थियो । विदेशी टेक्नोलोजीलाई नेपालमा भित्राएपछि यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुने भएको हो । यस प्रकृया अनुसार मोवाइलबाटै सबै कुराको पेमेन्ट हुन्छ ।