March 2nd, 2016

बुधबारको शेयर बजार : ६० करोडको कारोबार, सूचक पनि बढ्यो

economyसेयर बजार ६.२६ अंकको बृद्धिसँगै नेप्से सुचक १३०० अंकको नजिक पुगेको छ । सुरुदेखि नै उकालो लागेको बजार १२९५.७८ अंकमा रोकिएको छ । बजारमा ६० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ  । दिनभरिमा १२६ कम्पनीका १० लाख ४७ हजार २ सय ९२ कित्ता सेयर ३ हजार २ सय ३१ पटक किनबेच भएका छन् । 

बुधबार साना कम्पनिहरुले बढी कमाएका छन् । अपि पावर, डिप्रोक्स डेभलपमेन्ट, प्रभु इन्स्योरेन्स, राप्तीभेरी विकास, नेपाल ग्रामिण विकास, इन्नोभेटिभ डेभलपमेन्ट र सेती फाइनान्सका लगानीकर्ताले सम्पति १० प्रतिशतले वढाएका छन् । भक्तपूर फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ७.७३ प्रतिशतले गुमाएका छन् । त्यस्तै, नमस्ते वित्तिय संस्था यति डेघलपमेन्ट बैँक, युनिक फाइनान्स लगायतका लगानीकर्ताले पनि गुमाएका छन् । 

वढी कारोबार हुने कम्पनिहरुमा शिखर इन्स्योरेन्स, आरएमडिसी र डिप्रोक्स डेभलपमेन्ट बैंक लगायत रहेका छन् । शिखरको ६ करोड ४६ लाख, आरएमडिसीको पाँच करोड ९२ लाख र डिप्रोक्सको चार करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, नेपाल बैँक, नेको इन्स्योरेन्स, सानिमा बैँक, सिटिजन बैँक, इन्भेष्टमेन्ट बैँक र फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैँकको १ करोडमाथिको कारोबार भएको छ । 

उत्पादनमूलक र होटल वाहेक सबै समूहको शेयर सूचक उकालो लागेका छन् । उत्पादनमूलक र होटल समूह क्रमशः २०.७६ र १०.८ अंकले घटेका छन् । बिमा, विकास बैंक र फाइनान्स सुचक सबैभन्दा धेरै ४१.४२, १७.४९ र १७.२३ अंकले बढेका छन् । जलविद्युत् समूह १६.६२ अंकले बढेको छ । त्यस्तै, अन्य समूह ३.५२ र वाणिज्य बैँक समूह १.४९ अंकले बढेको छ ।