Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीका अध्यक्षको जग्गा बिक्री गरेर बचत रकम फिर्ता

२०७९ भाद्र ६ गते

बैंकिङ खबर/ जन्म बचत तथा ऋण सहकारी संस्थाले अध्यक्ष श्रीराम श्रेष्ठको जग्गा बिक्री गरेर बचत रकम फिर्ता गर्ने भएको छ । २०६५ सालमा स्थापना भएको सहकारीका अध्यक्ष श्रेष्ठ २०६७ सालमा १ करोड १३ लाख रुपैयाँ हिनामिना गरेर फरार भएका थिए ।

सहकारीका सञ्चालक वीररत्न मालीले सहकारीका अध्यक्षलाई परिवारले नै नियोजित रुपमा २०६७ सालमा भगाएको बताए

सहकारीले ५ दिनभित्र आआफ्नो बचत दाबी गर्न नआए पैसा नदिने भनी सूचना जारी गरेको छ । उक्त सूचनामा उल्लेख समयावधिमा सहकारीले त्रुटि भएको भन्दै सञ्चालकहरुले ५ दिने सूचना निकालेको भए पनि समय नपुगे थप गर्ने मालीले बताए ।

सहकारी स्थापना भएको १ वर्षपछि बन्द भएको थियो । जसले गर्दा बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका थिएनन् ।
सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले भने, ‘सहकारीले ५ दिनभित्र दाबी गर्न नआए बचत रकम फिर्ता गर्दिन भन्न मिल्दैन । बचतकर्ताको रकम सबै हिसाब गरेर फिर्ता गर्नुपर्छ । यस विषयमा हामी बुझ्छौं र आवश्यक कारबाही अगाडि बढाउनेछौं ।’

सहकारीले सोमबार एक सूचना जारी गर्दै आफूले बचत गरेको आधिकारिक कागजात, पासबुक, भौचरका साथै नागरिकताको फोटोकपीसमेत लिई बचत फिर्ता लिन आउन भनेको छ । ‘पाँच दिनपछि दाबी गर्न आउने बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकिने जानकारीसमेत यही सूचनामार्फत् दिन चाहन्छौं’, सूचनामा उल्लेख छ ।