
बैंकिङ खबर/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी साहुकारी भएको आरोप लगाउनुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को स्थापना दिवसमा बोल्दै मन्त्री श्रेष्ठले सहकारी सिद्धान्त अनुसार सञ्चालन नभएको र संघहरूले काम गर्न नसकेको गुनासो गर्नुभयो । सरकारलाई मात्र दोष दिएर अभियान पन्छिन नमिल्ने बताउनुभयो ।
सहकारी समाजिक कार्य तथा सामूहिक भावनामा सरिक नभएर साहुकारी भएको उहाँको भनाइ छ। उहाँले सहकारीबाट २३ प्रतिशत ऋण लिएको बताउनुभयो ।
सहकारीले नाफा नहेरी सदस्यको जीवनस्तर सुधार गर्नतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ। कोभिडपछि अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सहकारी गम्भीर नभए जटिल समस्या आउने उहाँको भनाइ छ।
सहकारी ऐन, नियमावली भएका सहकारी कर्जा सूचना केन्द्र, सहकारी ऋण असुली न्यायाधिकरण, स्थिरीकरण कोषलगायत कार्यान्वयन प्रक्रिया अघि बढेको उहाँको भनाइ छ। मन्त्री शशी श्रेष्ठले सहकारी संस्था सदस्यहरूप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले राष्ट्रिय सहकारी महासंघसहित १६ वटा संघहरूले ५ प्रतिशत मात्र बचत फिर्ता गर्न र नगद लाभांस नबाड्न गरेको अपिलले भ्रम सिर्जना गरेको बताउनुभयो ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारीले सदस्य केन्द्रित हुन नसक्दा सरकारको चिन्ता र चासो बढेको बताउनुभयो ।




