
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन’ मा व्यवसायीसँग छलफल गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीलाई छलफलका लागि डाक्नुभएको हो ।
राष्ट्र बैंकले गत वर्ष नै चालु पुँजी कर्जा सम्बन्धि व्यवस्था लागू गर्न राय सुझाव माग गरेको थियो । त्यसबेलै बैंकर्स, व्यवसायी र अन्य सरोकारवालाहरुले सुझाव दिएका थिए ।
उनीहरुले जस्ताको तस्तै मार्गदर्शन लागू गरेमा उद्योग व्यवसाय नै सञ्चालन गर्न नसकिने राय दिएका थिए । त्यसपछि कोभिडले व्यवसायलाई गाँज्दै लगेपछि यो व्यवस्थालाई राष्ट्र बैंकले अगाडि बढाउन चाहेन ।
गभर्नर अधिकारीले बिहीबार दिउँसो १ बजे होटल याक एण्ड यतिमा व्यवसायीलाई छलफलका लागि डाकेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, समुन्द्रपार व्यापार संघ, नेपाल बैंकर्स संघ, विकास बैंक संघ, फाइनान्स संघ सबैले केही बुँदाहरुका कारण अप्ठेरो पर्ने भन्दै पुनरावलोकनका लागि सुझाव दिएका थिए ।
राष्ट्र बैंकले चालु पुँजी कर्जाको सीमा कुल कारोबारको २० प्रतिशत हुने प्रस्ताव गरेको छ । यो व्यवस्थामा सबैभन्दा बढी आपत्ति जनाइएको हो । बैंकर्स संघले ८० प्रतिशतसम्म ऋण दिनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकले एक करोड रुपैयाँभन्दा कमको चालु पुँजी कर्जाको हकमा २० प्रतिशतको सीमा प्रस्ताव गरेको हो ।




