
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले घट्दो विदेशी मुद्राको सञ्चिति बढाउन विशेष अभियान सञ्चालन गर्ने भएको छ । यसअघि रेमिट्यान्सलाई निक्षेप राख्दा १ प्रतिशत बढी ब्याज दिएको राष्ट्र बैंकले अब भने केही देशमा मिशन नै चलाउन लागेको हो ।
त्यसका लागि राष्ट्र बैंकले दक्षिण कोरिया, जापान, भारत र इजरायल लगायतका देशहरुमा अभियान नै सञ्चालन गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले जनाएको छ । ती देशबाट बैंकिङ प्रणालीमार्फत् अत्यन्तै न्यून मात्रै रेमिट्यान्स भित्रिँदै आएको छ । ती देशबाट हुण्डीमार्फत् रेमिट्यान्स भित्रिन्छ ।
बढ्दो आयातका कारण पछिल्लो समय विदेशी मुद्रा (अमेरिकी डलर) को सञ्चिति निरन्तर घटिरहेको छ । रेमिट्यान्स खासै बढ्न नसक्दा डलर सञ्चितिमा ठूलो चाप परेको छ । राष्ट्र बैंकका अनुसार अहिले ९ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति छ । जसले साढे ६ महिनाको मात्रै वस्तु तथा आयात धान्न पुग्छ ।


