
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले समय र परिस्थिति अनुसार मौद्रिक नीति आउने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले बाह्य क्षेत्रका कारण नेपालको अर्थतन्त्र समस्यामा परेकाले आगामी वर्ष कस्तो नीति लिने भन्ने विषयमा राष्ट्र बैंकको टिमले सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको बताउनुभयो ।
निजी क्षेत्रले व्यवसाय सहज हुने गरी नीति आओस् भन्ने अपेक्षा गर्नु स्वभाविक भएको उहाँको भनाइ छ । अधिकारीले कोरोना महामारीका क्रममा अर्थतन्त्रलाई चलायमान बनाउन सुविधा दिएर पनि आवश्यकता अनुसार त्यसलाई संशोधन गरिएको बताउनुभयो ।
उहाँले ५०० र १००० को भारु नोटको समस्या समाधानको लागि कुटनीतिक पहल भइरहेको पनि बताउनुभयो । आएका सुझावहरुलाई राष्ट्र बैंक भित्र छलफल गरेर यथोचित स्थान दिने उहाँले उल्लेख गर्नुभयो ।



