Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको अध्ययनः सहकारीलाई एकीकरणमार्फत व्यवस्थित गर्न आवश्यक

२०७९ असार २० गते

बैंकिङ खबर/ सहकारी क्षेत्रमा दोहोरो सदस्यता अन्त्य तथा सुशासन कायम गर्न एउटा वडामा एउटा भन्दा बढी सहकारी भए एकआपसमा एकीकरण गर्न आवश्यक रहेको एक अध्ययनले देखाएको छ ।

अध्ययनले समग्रमा बचत तथा ऋण सहकारी संस्थाहरुको पुँजी, बचत परिचालन, ऋण प्रवाह, सदस्य संख्या र कर्मचारी संख्या समेत वृद्धि भएको देखाएपनि सहकारी क्षेत्रको नियमित अनुगमन, संस्थागत सुशासनमा थप सुधार एवं बचत तथा ऋण सहकारी संस्थाहरुको पनि मर्जर तथा एक्वीजिसन गर्न सके सहकारी क्षेत्रको व्यवस्थित विकास हुने अध्ययनको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको बचत तथा ऋण सहकारीहरुको सर्वेक्षणले यस्तो तथ्य सार्वजनिक भएको हो । सहकारी क्षेत्रको नियमित अनुगमनको कमीका कारण केहि सहकारीका सञ्चालकहरु फरार हुने क्रम बढेकाले नियमसंगत रुपमा चलेका सहकारीमा समेत यसको नकारात्मक प्रभाव परेको छ । यसले गर्दा सदस्यहरुमा सहकारी प्रतिको विश्वासमा कमी आउनुका साथै आफु सम्बद्ध संस्थाहरुलाई पनि सदस्यहरुले शंकाको घेरामा राख्ने गरेका छन् ।

सहकारी संस्थाहरुबीच सदस्य बढाउने अस्वस्थ प्रतिस्पर्धा र अन्तर सहकारी समन्वयको अभावले एउटै ब्यक्ति विभिन्न सहकारीमा सदस्य हुने र धेरैबाट ऋण उपयोग गर्ने प्रवृति बढेको छ । यसबाट ऋण असुलीमा समस्या उत्पन्न भएको छ ।

नमुना छनौटमा परेका बचत तथा ऋण सहकारी संस्थाहरुबाट प्राप्त तथ्यांकक अनुसार उक्त सहकारी संस्थाहरुमा आ.ब. २०७४÷७५ असार मसान्त देखि आ.ब. २०७७/७८ असार मसान्तसम्ममा कुल पुँजी निरन्तर बृद्धि भई रु. २ अर्व ६३ करोड २६ लाख पुगेको छ भने आ.ब. २०७८/७९ पुष मसान्तमा ५.६५ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ७८ करोड १२ लाख पुगेको छ । आ.ब. २०७४/७५ असार मसान्तमा कुल पूंजी रु. ६९ करोड २० लाख रहेको थियो ।

ती संस्थाहरुबाट प्राप्त तथ्याँक अनुसार आ.ब. २०७४÷७५ असार मसान्त देखि आ.ब. २०७७÷७८ असार मसान्तसम्ममा बचत परिचालन निरन्तर बृद्धि भई रु. ८ अर्व ३ करोड ९ लाख पुगेको छ भने आ.ब. २०७८/७९ पुष मसान्तमा ७.७८ प्रतिशतले वृद्धि भई रु.८ अर्ब ६५ करोड ५९ लाख पुगेको छ । आ.ब. २०७४/७५ असार मसान्तमा बचत परिचालन रु. ३ अर्व ७५ लाख रहेको थियो ।

संस्थाहरुबाट प्राप्त तथ्याँक अनुसार आ.ब. २०७४/७५ असार मसान्त देखि आ.ब. २०७७÷७८ असार मसान्तसम्ममा कुल ऋण प्रवाह निरन्तर बृद्धिभई रु. ७ अर्व ५५ करोड ६७ लाख पुगेको छ भने आ.ब. २०७८÷७९ पुष मसान्त सम्ममा सो ऋण प्रवाहमा २०.७८ प्रतिशतले वृद्धि भई रु.९ अर्ब १२ करोड ६७ लाख पुगेको छ ।

सहकारीहरुको सदस्य संख्या निरन्तर बढेर ७१ हजार ७ सय १७ पुगेको छ भने आ.ब. २०७८/७९ पुष मसान्तमा १५.२६ प्रतिशतले वृद्धि भई ८२ हजार ६ सय ६२ पुगेको छ । आ.ब. २०७४/७५ असार मसान्तमा सदस्य संख्या ३१ हजार २ सय १९ रहेको राष्ट्र बैंकको उक्त अध्ययनले देखाएको छ ।