बैंकिङ खबर/ रोयल नेपाल गल्फ क्लबको सहकार्य, प्रभु मेनेजमेन्टकाे प्रायोजनमा आयोजित प्रथम महिला खुल्ला गल्फ प्रतियोगिता २०२२ को उपाधि सुष्मा सिग्देलले पाउन सफल हुनु भएकाे छ । रोयल नेपाल गल्फ क्लबको प्राङ्गणमा शनिबार प्रतियोगिताको समापन समाराेहमा राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यता रहेकाे थियाे ।
महिला खेलाडीको प्रतिस्पर्धामा विजयी हुने विजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रपति भण्डारी, विशेष अतिथि सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, डा.रिता थापा लगायतका अतिथिहरुले पुरस्कार तथा शिल्ड वितरण गर्नुभएकाे थियो ।

त्यस्तै प्रथम विजेता बन्न सफल सुष्मा सिग्देललाई प्रभु मेनेजमेन्टका अध्यक्ष कुसुम लामा र क्रियशन सफ्टका अध्यक्ष रणधीर सिंहले संयुक्त रुपमा शिल्ड र स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति भण्डारीले विजेताहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस खेलमा महिलाहरुको सहभागिता बढाउन र गल्फ क्लबलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल सरकारले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै प्रतियोगितामा सहभागी समेत हुनुुभएका विशेष अतिथि मल्लले विजेताहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गल्फ खेलका बारेमा आफ्नो अनुभव व्यक्त गर्नुभयो ।
उहाँले गल्फ खेल भनेको पुरुष वर्ग, धनी र रिटार्यड लाइफ बिताउँदै गरेकाहरुले मात्र खेल्ने खेल हो भन्ने लाग्थ्यो तर त्यसो नभई यो मानिसको मानसिक र शारिरीक स्वास्थ्यको लागि समेत उपयोगी रहेको बताउनुभयो । त्यस्तै रोयल नेपाल गल्फ क्लबले नजिकै रहेको विमानस्थलबाट हुने प्रदुषणलाई यस गल्फ क्लबको हरियालीले कम गरेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड मान श्रेष्ठले बधाई तथा शुभकामना मन्तव्यका साथै रोयल नेपाल गल्फ क्लबको ईतिहासलाई जोगाउन सरकारले यस क्षेत्रको विकास र संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
महिला खेलाडीहरूको मात्र सहभागीता रहेको उक्त प्रतियोगिताको आयोजना पनि महिलाहरूले नै गरेका हुन् जसमा चर्चित महिला गल्फर प्रतिमा शेर्पा, गल्फर तथा लेडी क्याप्टेन आर्सीया बानु र सञ्चारकर्मी सरीता ज्ञवाली रहेका छन् ।
प्रतियोगितामा ४० भन्दा बढी सिनियर र जुनियर खेलाडीहरुको प्रतिष्स्पर्धामा विभिन्न जिल्लाहरुबाटसहभागीतारहेको थियो । महिलाहरुको गल्फ खेलमा क्षमता विकास र प्रतिभाको प्रस्फुटन गराईमहिला गल्फ प्रतियोगितामा प्रतिस्पर्धा गराउने उद्देश्यसहित आयोजित उक्त प्रतियोगितामा काठमाडौं, पोखरा,तथा धरानका महिलागल्फरहरूको सहभागीतारहेको थियो ।
प्रतियोगिताका विजेता खेलाडीहरुले स्कुटरसँगै आकर्षक पुरस्कारहरु प्राप्त गरेका थिए । विभिन्न विधाका विजेताहरुलाई सिल्ड, टर्किस एयरलाइन्सको एयर टिकट, आर्सिया डेण्टल क्लिनिकको तर्फबाट उपहार कुपन, नगद कुपन, महिला विजेतालाई स्कुटर, जुनियर विजेतालाई साइकल लगायत विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिस्पर्धामामहिला उपविजेता कश्मिरा शाह, लामो दुरीका विजेता प्रतिभा राई, क्लोजेस्ट टु द पिनका विजेता रेखा घिमिरे, सिनियर उपविजेताकल्याणी मोक्तान, सिनियर विजेता रेखा घिमिरे, जुनियर उपविजेता सोनी तामाङ रजुनियर विजेता आइस्टिना टन्डन रहेका थिए ।
आयोजकको तर्फबाट कार्यक्रममा धन्यवाद मन्तव्य गल्फर तथा लेडी क्याप्टेन आर्सिया बानुले दिँदै आफूले परिकल्पना गरेता पनि यस कार्यक्रमलाई उनका दुई अनन्य मित्रहरु चर्चित महिला गल्फर प्रतिमा शेर्पा र सञ्चारकर्मी सरीता ज्ञवालीको सहकार्यले सफल हुनुका साथै यस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने समेत बताउनुभयो ।




