चालू आर्थिक वर्षको पहिलो महिनामै नेपालले ६३ अर्ब ७६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । सो अवधिमा निर्यातभन्दा आयात धेरैले बढेपछि मुलुकको वैदेशिक व्यापार घाटामा गएको हो । वैदेशिक व्यापारमा भने चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ६ खर्ब ९६ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको साउन महिनाको तुलनामा निर्यात व्यापार ७.७ प्रतिशतले बढेको छ । यता, आयाततर्फ भने साउन महिनामा मात्र वस्तु आयातको लागि ७० अर्ब रुपैयाँ बाहिरएको छ । अघिल्लो वर्षको साउन महिनाको तुलनामा १३ प्रतिशतले बढेको आयात भारतबाट आउने आयात ९.५ प्रतिशतले, चीनबाट १०.५ प्रतिशत तथा अन्य मुलुकबाट २६.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, देशबाट भित्रिने भन्दा बाहिरिने रकम बढी भएपछि शोधनान्तर स्थिति पनि २ अर्ब १३ करोड रुपैयाँले घाटामा गएको छ । व्यापार घाटा बढेको तथा वैदेशिक रोजगारीमा जानेको संख्या घटेका कारण रेमिट्यान्स आप्रवाहमा आएको कमीका कारण शोधनान्तर साउन महिनामा घाटामा गएको हो । अघिल्लो वर्ष साउन महिनामा शोधनान्तर ४ अर्ब ७७ करोडले बचतमा थियो । सेवा आय पनि साउन महिनामा १.५ प्रतिशतले घटेको छ । सेवा खर्च १४.८ प्रतिशतले बढेका कारण खुद सेवा आय घाटा ३ अर्ब २१ करोड भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अघिल्लो वर्षको पहिलो महिनामा ८ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको चालू खाता विप्रेषण आप्रवाह र वैदेशिक अनुदान घटेका कारण समीक्षा अवधिमा २ अर्ब ३२ करोडले घाटामा छ । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले घटेर साउन महिनामा जम्मा ५१ अर्ब ९४ करोड रुपैयाँ आएको छ ।


