
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । सर्वोच्च अदालतमा बिहीबार कायमकुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले शपथ ग्रहण गराउनुभएकाे हाे ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ ६ को निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त हुनुभएकाे थियो ।
सिवाकोटी बैंकका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । नवनियुक्त सञ्चालकद्धयको कार्यकाल पाँच वर्ष हुनेछ ।