Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निजी गाडीका लागि एलसी खोल्न बन्द

२०७८ चैत्र २२ गते
 

बैंकिङ खबर/ अबदेखि निजी सवारीसाधन आयात गर्न नपाइने भएको छ । उच्च आयातकै कारण भुक्तानी सन्तुलन निकै नकारात्मक बनेको र विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको हो । सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई निजी गाडी आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएको हो ।

अत्यावश्यक बाहेकका केही वस्तुको आयातलाई निरुत्साहन गर्ने नीति लिएको राष्ट्र बैंकले आयातमा थप कडाइ गरेको हो । राष्ट्र बैंकको निर्देशनबमोजिम मंगलबारदेखि निजी गाडीका लागि एलसी खोल्न बन्द गरिएको एक बैंकका सीईओले जानकारी गराएका छन् ।

विदेशी मुद्रा सञ्चिती घट्दैै गएको र अर्थतन्त्र नै संकटमा पर्न थालेपछि राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रतिनिधिहरूलाई बोलाएर एलसी नखोल्न निर्देशन दिएको हो । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो ।

अहिले गाडीको अत्याधिक माग रहेको छ । छलफलमा राष्ट्र बैंकका अधिकारीहरूले गएको साउनयता मात्रै ७० अर्ब रुपैयाँ भन्दा बढीको गाडी तथा पाट पुर्जा आयात भएको भन्दै अब अर्को व्यवस्था नभएसम्मका लागि गाडीको आयात रोक्नुपर्ने बताएका छन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अत्याश्यक बाहेक गाडी लगायतका बस्तुको आयातमुखी कर्जा कम गर्न पनि बैंकहरुलाई आग्रह गरेको जानकारी दिनुभयो ।

गएको साउनदेखि माघसम्म सात महिनाको अवधिमै अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको छ । देशको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा पुगेकोले यसबेला आयातलाई कडाइ गर्नुपर्ने बाध्यता रहेको छलफलमा राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

Ad