खाना पकाउने ग्यास सिलिन्डरको न्यूनतम बीमा रकम बढाइएको छ । नेपाल एलपी ग्यास उद्योग संघल ग्यास सिलिण्डरको न्युनतम बीमा एक करोड रुपैयाँ हुने व्यवस्था लागू गरेको हो । संघले आफ्ना सदस्यलाई १ करोड रुपैयाँको बीमा गर्न सर्कुलर समेत जारी गरिसकेको छ ।
ग्यास सिलिन्डर पड्किएर उपभोक्ताको मृत्यु तथा घाइते र भौतिक क्षति हुँदा क्षतिपूर्तिका बारेमा ग्यास कम्पनी र पीडित पक्षबीच लामो समयसम्म विवाद भइरहने भएकाले बीमा रकम बढाइएको हो । भौतिक क्षति, मृतकका परिवारलाई दिने क्षतिपूर्ति र घाइतेको औषधि उपचार रकम बिमा स्किममा छुट्याइएको छ । यसअघि भौतिक क्षतिको कुनै व्यवस्था राखिएको थिएन ।
क्षतिपूर्तिका लागि चाहिने कागजात जुटाउने काम ग्यास कम्पनीले गर्नेछ । बीमा कम्पनीले मृतकका परिवारलाई बढीमा ५० लाख, भौतिक क्षति ४० लाख र घाइतेको औषधि उपचारमा १० लाख रुपैयाँ दिनेछ । एउटा ग्यास पड्कदा पाँच जनाभन्दा बढीको मृत्यु भए दामासाहीका आधारमा ५० लाख रुपैयाँ बाँड्नुपर्छ । ४० लाख रुपैयाँभन्दा बढी क्षति भए ४० लाख रुपैयाँ मात्र पाउने व्यवस्था गरिएको छ भने घाइतेले औषधि उपचारका लागि अधिकतम् १० लाख रुपैयाँ पाउनेछन् ।
आपूर्ति मन्त्रालयले ग्यासको मापदण्ड र बीमा सम्बन्धी व्यवस्थाका लागि एक अध्ययन समिति गठन गरेको छ ।