Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० अर्बको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

२०७८ फाल्गुन २९ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चैत्र १ गतेदेखि १० अर्बको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले चैत्र १ गतेदेखि २० गतेसम्म ५ वर्षे अवधिको नागरिक बचतपत्र २०८३ ‘क’ निष्काशन गर्न लागेको हो ।

यस बचतपत्रमा जो कोहि नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । यस बचतपत्र वार्षिक १० प्रतिशत ब्याज प्राप्त हुने छ भने ब्याज आम्दानीमा कर लाग्ने छ। ब्याज भुक्तानी हरेक ६÷६ महिनामा हुने छ ।

यस बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निस्शेष भाग जाने अंकमा आवेदन दिनु पर्ने छ। यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन दिन सकिने छ।

यस बचतपत्रको किसिम स्टक वा प्रमिशरी नोट हो । आवेदन दिंदा स्टक वा प्रमिशरी नोट मध्ये आफुले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने छ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने बैंकले जनाएको छ।

यो ५ बर्षे अवधिको बचतपत्र भएपनि यसलाई जुन सुकै बेला पनि बेच्न सकिन्छ । यस बारेलाई धेरैलाई जानकारी नहुन सक्छ । स्टक प्रमाणपत्रको हकमा बेच्नको लागि राष्ट्र बैंक मै जानु पर्ने ब्यबस्था छ । तर प्रमिशरी नोट प्रमाणपत्रको हकमा भने बेच्न चाहने र खरिद गर्न चाहनेले घर मै खरिद बिक्रि गर्न सक्छन । प्रमिशरी नोट प्रमाणपत्रको पछाडी हक हस्तान्तरण अर्थात नामसारीको लागि विवरण लेख्ने स्थान हुन्छ । त्यहि स्थानमा आफ्नो विवरण राखेर सजिलै यसलाई बेच्न सकिन्छ । यसरी बेच्दा जुन दिनमा बेचिएको हो , त्यस दिनसम्मको ब्याज सहित पैसा फिर्ता पाइन्छ ।

यदि बचतपत्र खरिद गरेकाहरुले यसलाई बेच्न चाह्यो तर कोहि खरिदकर्ता पाएन भने उसले बजार निर्माता अर्थात मार्केट मेकरकोमा गएर बेच्न सक्छ । मार्केट मेकर भनेको बैंकहरु नै हुन् । यो जुन सुकै बेला बेला बेच्न सकिन्छ, मार्केट मेकरसँग होइन म किन्दिन्न भन्ने बिकल्प नै हुदैन, उनीहरुले त्यो खरिद गर्नै पर्छ । त्यस्तै मार्केट मेकरले पनि चाहेमा जुनसुकै बेलामा त्यो राष्ट्र बैंकलाई बेच्न सक्छन् । त्यहि कारण यो स्टक एक्चेन्जमा कारोबार हुने शेयर भन्दा पनि लिक्विड मानिन्छ। शेयर बेच्न खोज्दा खरिदकर्ता नपाउने सम्भावना हुन्छ, तर बचतकर्ताको हकमा खरिदकर्ता जुनसुकै बेला खरिद गर्न तयार भएर बसेको हुन्छ । यसरी बीच मै बेच्दा फेस भ्यालु र त्यस दिनसम्मको ब्याज बेच्नेले पाउने छ ।