२०७३ भाद्र २७ गते

एक वर्षमा ८८ प्रतिशतले बढ्यो कृषि बीमा : यस्ता छन् पाँच कारणहरु

crop-insuranceगत आर्थिक वर्ष २०७२/७३ मा कृषि बीमा ८८ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार गत आवको अन्त्यसम्ममा बीमा कम्पनीहरूले ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको कृषि बीमा लेख जारी गरेका छन् । जबकी, अघिल्लो आव २०७१/७२ को सोही अवधिमा भने कम्पनीहरूले ३ अर्ब १८ करोड बराबरको कृषि बीमा बिक्री गरेका थिए । 

गत आवमा बिक्री भएको कृषि बीमालेखवापत कम्पनीहरूले २४ करोड ८७ लाख बीमाशुल्क आम्दानी गरेका छन् भने १४ करोड ८६ लाख बराबरको कम्पनीहरूमा कृषि बीमा दाबी परेको छ । उक्त अवधिमा कृषि बिमाका लागि कम्पनीहरूलाई सरकारले १८ करोड ६५ लाख बराबरको अनुदान रकम वितरण गरेको छ । 

समितिको तथ्यांकअनुुसार गत आवमा ४३ करोड ८७ लाख बराबरको बाली भएको छ भने सो अवधिमा कम्पनीहरूले बालीवापत २ करोड १६ लाख बराबरको बीमाशुल्क आम्दानी गरेका छन् । त्यस्तै, कम्पनीहरूले २९ करोड ५८ हजार बराबरको माछा बीमा गरेका छन् । यसवापत ६३ लाख ३२ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । कम्पनीहरूले ४ अर्ब ७० करोड बराबरको पशु बीमा गरेका छन् भने सोवापत २३ करोड २९ लाख बीमाशुल्क आम्दानी गरेका छन् । त्यस्तै, गत आवमा कम्पनीहरूले ५६ करोड बराबरको पन्छी बीमा गरी १ करोड ५७ लाख रुपैयाँ बराबरको बीमाशुल्क आम्दानी गरेका छन् । 

जिल्ला नै तोकर कृषि बीमा गर्न निर्देशन 
बीमा समितिले बिमकहरूलाई जिल्ला नै तोकेर कृषि बीमा गर्न निर्देशन दिएपछि कृषि बीमा एक वर्षमै झण्डै दोब्बरले बढेको हो । नेपालको कृषि क्षेत्रलाई व्यावसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९ माघ  १ गतेदेखि कृषि बीमा कार्यक्रमको सुरुवात गरेको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिँदै समितिले आव २०७०/७१ देखि कृषि तथा पशुबीमालाई अनिवार्य गरेको थियो । तैपनि बिमकहरू कृषि बीमाप्रति त्यति आकर्षित नदेखिएपछि समितिले २०७१ फागुनमा बीम कम्पनीहरूलाई जिल्ला नै तोकेर कृषि बीमा गर्न निर्देशन दिएको थियो । 

सरकारी अनुदान
सरकारले व्यवस्था गरेको अनुदानका कारण पनि कृषि बीमाप्रति कृषकहरुको आकर्षण बढेको हो । कृषि बीमाप्रति कृषकहरूलाई प्रेरित गर्न सरकारले अनुदान रकमको व्यवस्था गरेको छ । सुरुवातमा ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले आव २०७१/७२ देखि भने ७५ प्रतिशत अनुदान वितरण गरेको छ । 

बीमाबारे चेतना
पछिल्लो समय कृषकहरु आफैँ पनि बीमाबारे सचेत हुँदै गइरहेका छन् । कृषकहरुले विस्तारै बीमा, बीमा महत्व र आवश्यकताबारे बुझ्न थालेकाले पनि कृषि बीमा गर्नेको संख्या बढ्दै गएको बीमा समितिको दाबी छ । 

आवश्यकता अनुसारका नयाँ बीमालेखहरु
समितिले कृषकहरुको आवश्यकता र मागलाई ध्यानमा राख्दै समयसमयमा नयाँ नयाँ बीमा लेखहरु जारी गर्ने गरेकाले पनि कृषि बीमातर्फ बीमा कम्पनीहरुको व्यवसाय फस्टाएकोृ पाइएको हो । गत वर्ष समितिले कृषि बीमाअन्तर्गत मौसम सूचांक बीमालेख (स्याउ) जारी गरेको छ । त्यस्तै, विज वृद्धि बीमालेख, केराखेती बीमालेख, च्याउखेती बीमालेख, अस्ट्रिच बीमालेख र मौरी बीमालेख जारी गरेको छ ।

तालिम तथा प्रशिक्षण
अर्कातिर, बीमासम्बन्धि सर्वसाधारण चेतना नै नहुँदा प्रशस्त सम्भावना हुँदाहुँदै पनि बीमा व्यवसाय फस्टाउन नसकेको टिप्पणीहरु बढ्न थालेपछि बीमा कम्पनीहरु आफैँले बीमा सम्बन्धि चेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएका छन् । यसले गर्दा सर्वसाधारणले, बीमा केहो ? कसरी गर्ने ? यसका फाइदा केके छन् ? लगायतका महत्वपूर्ण जानकारी पाएका छन् । त्यस्तै, बिमकहरूले जिल्ला कृषि कार्यालय, पशु सेवा कार्यालयलगायतलाई बीमा सम्बन्धि तालिम प्रदान गर्दै आइरहेका छन् । साथै, समितिले पनि काठमाडौं, भैरहवा र विराटनगरमा समेत तालिम प्रदान गरेको छ । तालिम तथा विभिन्न चेतना अभिवृद्धिका कार्यक्रमको परिणमस्वरुप सर्वसाधारणले बीमालाई विश्वास गर्न थालेकाले पनि कृषि बीमा बढेको हो ।