
बैंकिङ खबर/ अब सहकारी संस्थाहरुले पनि आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न पाउने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन्।
आइतबार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो। उक्त सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईं र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले हस्ताक्षर गरे।
सम्झौताअनुसार अबदेखि सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्ने छन्। सहकारीहरुले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटिएम मार्फत रकम निकाल्न सक्नेछन् भने पिओएसको माध्यमबाट कुनै पनि सेवा वा बस्तु खरिद गर्न सक्नेछन्। कुप कार्ड ग्लोबल आइएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सरहकारीले जारी गर्नेछन्।
सम्झौतापछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारको लागि बैंक गइरहनु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ। यसअघि एक सयभन्दा बढी सहकारीले आफ्ना सदस्यहरुलाई कार्ड सेवा उपलब्ध गराउँदै आएका छन्।


