हाल शेयर बजारमा नयाँ नयाँ कम्पनिहरु थपिने, भएका कम्पनिहरुको शेयर थपिने प्रकृया चलिरहेकाले पनि बजार बढेको देखिन्छ । जति धेरै शेयर थपियो उति नै समग्र नेप्से कारोबार स्वतः बढ्ने हुन्छ । बजारमा जति पुँजी भित्रिँदै गयो उति कारोबार बढ्ने र सोही अनुरुप बजार उकालो लाग्ने हुन्छ । त्यसैले, अलिे लगानी गर्न चाहने नयाँ लगानी कर्ताहरुले राम्ररी सबै कम्पनिहरुको अवस्था बुझेर मात्र लगानी गर्नु जरुरी छ । पूराना लगानीकर्ताहरु पनि बजार घटबढ भइरह्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन ।
नेपालमा शेयर बजार बुझेका मान्छेहरु न्यून छन् । सर्वसाधारणहरुमा झन् यससम्बन्धि ज्ञान कम छ । जानकारीविना नै कतिपयले शेयरमा लगानी गरिरहेका हुन्छन् । यो गलत प्रचलन हो । शेयर बजारलाई राम्ररी बुझेर, बजारको अवस्थालाई बुझेर लगानी गर्ने हो भने मात्र आफ्नो लगानी सुरक्षित हुन्छ । छोटो समयमा नै धनी बनेर निस्कन्छु भनेर शेयरमा लगानी गर्ने मनशाय पनि गलत हो । मुलुकका हरेक निती तथा राजनितीक एवं आर्थिक अवस्थाले शेयर बजारमा पनि प्रभाव पार्ने भएकाले बजारमा उतार चढाव आउँछन् । त्यसैले, शेयर लगानी गरिसकेपछि लामो समय टिक्छु भन्ने मनशाय राखेर मात्र आउनुपर्छ । लगानी गरेर १÷२ वर्षमै झिक्छु भन्ने सोचेर शेयर लगानी गर्ने प्रवृत्तिलाई परिवर्तन गर्नु जरुरी छ ।