
बैंकिङ खबर/ सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर चैतमा पुनः बढ्ने भएको छ । सहकारी पत्रकार समाजले आयोजना गरेको ‘एकीकृत निर्देशन’ विषयक छलफलमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले चैतमा सहकारी संस्थाहरुको ब्याजदर बढ्ने सम्भावना रहेको बताए ।
सहकारीको सन्दर्भ ब्याजदरसँग मेलखाने माघसम्मको तथ्याङक राष्ट्र बैंकमा फागुन २२ गते आउने भन्दै अध्यक्ष उप्रेतीले भने, ‘फागुनमा आउने तथ्याङकमा बैंकको ब्याजदर पनि बढ्यो भने चैतमा सहकारी संस्थाहरुको पनि सन्दर्भ ब्याजदर बढ्ने छ ।’
सो रिर्पोट आएपछि छलफल गर्ने र बैंकहरुको ब्याजदर बढेको पाइएमा सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउने विषयमा सहकारी विभागका रजिष्ट्रारसँग सहमति भएको उनको भनाइ छ ।
छलफलमा राष्ट्र बैंकमा फागुनसम्मको ब्याजदरको तथ्याङक नआएको कारण माघको तथ्याङकलाई आधार मानेर अहिलेको सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम गरेको राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका उप्रेतीको भनाइ छ ।
बैंकको ब्याजदर बढे सहकारीको सन्दर्भ ब्याजदर बढाउने भएपनि बैंकको ब्याजदर घटेको खण्डमा के गर्ने भन्ने विषयमा अहिले नै कुनै धारणा नभएको अध्यक्ष उप्रेतीको भनाइ छ ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी विभागले जारी गरेको ८८ बुँदे निर्देशन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग स्वीकृती नलिइ जारी गरेको भन्दै यो संशोधन गर्ने बताए ।




