Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्ति अन्यौलमा !

२०७८ फाल्गुन १७ गते

बैंकिङ खबर/ राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति अन्यौलमा परेको छ । सीईओका लागि आवेदकमध्येबाट ३ जनाको नाम छनोट भएको छ । कम्पनीको सीईओ पदका लागि आवेदन दिएका ११ जना आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट भएको हो ।

कम्पनीले सीईओको लागि गत मङ्सिर १२ गते सूचना प्रकाशन गरेको थियो । लामो समयदेखि रिक्त रहेको सीईओ पदका लागि मङ्सिर २६ गतेसम्म समय दिएको थियो । उक्त पदका लागि विभिन्न ११ जनाले आवेदन दिएका थिए । सरकारले अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा छनोट समिति बनाएको थियो । भण्डारी बीमा कम्पनीमा सरकारको तर्फबाट सञ्चालक समेत रहेका छन् ।

छनोटमा परेका सुरेन्द्र थापा राष्ट्रिय बीमा संस्थानको सहायक प्रशासकमा साँढे २ वर्ष काम गरेका व्यक्ति हुन् । थापा पछिल्लो समय अजोड इन्स्योरेन्समा डेपुटी सीईओबाट केही महिना अघिमात्रै बाहिरिएका हुन् । त्यस्तै खड्का पनि ५ वर्षअघि बीमा संस्थाको सहायक प्रशासक भैसकेका व्यक्ति हुन् । खड्का र थापा माओवादी निकट हुन् ।

अर्को बीमा क्षेत्रमा लामो समय काम गरेका शेखर बराल पनि प्रतिस्प्रर्धामा छन् । लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओ भैसकेका व्यक्ति हुन् । सत्तारुढ दलभित्रको किचलोले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति अन्योलमा परेको छ ।

सत्तारुढ नेपाली कांग्रेसले आफ्नो मान्छे राष्ट्रिय बीमा कम्पनीमा नियुक्ति गर्नुपर्ने अडानमा छ भने नेकपा माओवादीले आफू नजिकको व्यक्तिलाई सीईओ बनाउनु पर्ने जिकिर गर्दै आएको छ । सत्तापक्ष दलबीचको यही किचलोका कारण राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्तिमा ढिलाइ हुँदै गएको हो ।

सञ्चालक भण्डारीले दिए राजीनामा

कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा विवाद भएपछि सञ्चालक समितिका सदस्य अर्जुन भण्डारीले राजीनामा दिएका छन् । अर्थमन्त्रालयका प्रतिनिधिका रुपमा आएका सञ्चालक भण्डारीले केहि दिन अगाडी मन्त्रालयमै राजीनामा बुझाएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नियुक्ति गर्न नसके पछि भण्डारीले राजीनामा दिएका हुन् । भण्डारीले अर्थमन्त्रीको निर्देशनमा तेस्रो वरियतामा रहेका बराललाई नियुक्तिका लागि अडान राख्दै आएका थिए । तर अन्य सञ्चालकहरुले अस्वीकार गरे पछि उनले सकेनन् । ‍नेकपा माओवादी भित्रका दुई गुटको लडाइले नियुक्ति प्रकृयाँ अन्योलमा परेको छ ।