२०७८ माघ २७ गते

बैंकिङ पहुँच, बैंक खाता संख्या र निष्क्रिय खाताको अवस्था

  • अनिस मिजार

बैंकिङ खबर/ पछिल्लो समय एकै व्यक्तिका एक दर्जनभन्दा बढी बैंकमा खाता रहेको पाइएको छ। तर ती सबै खाता सक्रिय भने छैनन्। दर्जन बैंकमा खाता खोल्ने तर कारोबार भने सीमित बैंकबाट मात्रै गर्ने धेरै रहेका छन्। धेरै बैंकमा खाता मात्रै खोल्ने तर, कारोबार नगर्नाले बैंकमा निष्क्रिय खाताको संख्या पनि बढ्दै गएको बैंकहरुले बताएका छन् ।

सरकारले अघिल्लो आर्थिक वर्षको निती तथा कार्यक्रममा नै सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गर्ने र प्रत्येक नेपाली नागरिकको बैंक खाता खोल्ने योजना ल्याएको थियो ।

सरकारको उक्त योजना अनुसार पनि पछिल्लो समय बैंकहरुमा खाता खोल्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्याभन्दा बढी बैंक खाता रहेको तथ्याङ्क सार्वजनिक नै गरेको छ।

सरकारको ‘सबै नेपालीको बैंक खाता’ भन्ने नाराले गतवर्ष नै सार्थकता पाएको देखिन्छ। तर, राष्ट्र बैंककै एक अध्ययनले मुलुकको जनसंख्याभन्दा बढी बैंक खाता भए पनि एकजना व्यक्तिको दर्जन बढी बैंकमा खाता भएकाले ४० प्रतिशतभन्दा बढी जनता अझै बैंकिङ पहुँचभन्दा बाहिर नै रहेको देखाएको छ ।

सरकारले बनाएको ‘एक व्यक्ति एक बैंक खाता’ योजना साकार भएको देखिए पनि बैंकिङ पहुँच भने ६० प्रतिशत जनतामा मात्रै सीमित रहेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ।

बैंक खाता मुलुकको जनसंख्याभन्दा बढी भएता पनि बैंकमा सबै खाता सक्रिय मात्रै नभएर निष्क्रिय खाता पनि रहेको बैंकहरुले जनाएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल उपाध्यायले पछिल्लो समय सामाजिक सुरक्षा भत्ता लगायत रेमिट्यान्सको लागि बैंकमा खाता खोल्ने तर कारोबार नगर्नाले बैंकमा निष्क्रिय खाता बढ्दै गएको बताए।

अध्यक्ष उपाध्यायले बैंकहरुले खातावालाको ग्राहक पहिचान विवरण अद्यावधिक गर्नु पर्नेमा सो विवरण अद्यावधिक नगर्दा बैंक खाता रोक्का भएको अवस्थामा बैंक खाता निष्क्रिय हुने गरेको बताए । उनले भने, ‘बैंकहरुले खातावाला ग्राहकहरुको ग्राहक पहिचानका लागि वार्षिकरुपमा ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने गरिन्छ । अद्यावधिक भएका खाता सक्रिय हुन्छन् भने ग्राहक पहिचान विवरण अद्यावधिक भएन भने बैंक खाता रोक्का भएर निष्क्रिय हुन्छन्।’

त्यस्तै अध्यक्ष उपाध्यायले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तहमा सामाजिक सुरक्षाभत्ताका लागि पनि बैंक खाता अनिवार्य गरिएको छ तर यसमा कतिपय व्यक्तिले बैंक खाता खोल्ने तर, खाता सक्रिय नभएको अवस्थाले पनि बैंकमा निष्क्रिय बैंक खाता बढाएको बताए ।

उनले भने, ‘संघीयता लागू भएसँगै स्थानीय तहमा सामाजिक सुरक्षाभत्ताको लागि बैंक खाता खोल्ने तर खातामा पैसा आए पनि बैंक खाता सञ्चालन नगर्दा बैंकमा निष्क्रिय खाता बढेको छ। त्यस्तै, रेमिट्यान्सका लागि विदेश जाँदा बैंक खाता खोल्ने गरिएको छ । त्यस्ता खाता विदेशबाट रेमिट्यान्स आउँदा बैंक खाता सक्रिय हुने र रेमिट्यान्स नआउँदा बैंक खाता निष्क्रिय हुँदा पनि निष्क्रिय खाताको संख्या बढेको देखिन्छ ।’

यता नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले खाता खोल्ने बढे पनि निष्क्रिय खाता कमै मात्रामा रहेको बताए । उनले बैंकहरुमा निष्क्रिय खाता हुने गरेता पनि खोलिएका सबै खाता निष्क्रिय नभएको बताए । उनले भने,‘पछिल्लो समय बैंकहरुमा निष्क्रिय खाता भएतापनि खोलिएका जति सबै खाता भने निष्क्रिय हुँदैनन् ।’

बैंक खाता कसरी निष्क्रिय हुन्छ ?

एक जना व्यक्तिले दर्जन बढी बैंकमा खाता खोल्ने तर खाता खोलेर बैंकिङ कारोबार भने सीमित बैंकबाट मात्रै गर्ने गरेको पाइन्छ । यसरी खाता खोल्दा बैंकमा खाता खोल्नेको संख्या बढेको अध्यक्ष उपाध्यायले बताए । उनका अनुसार बैंकमा निष्क्रिय खाता बैंकहरुले ग्राहक पहिचान विवरण अद्यावधिक नगर्दा बैंक खाता रोक्का हुँदा खाता निष्क्रिय हुने गरेका छन्।

यता नेपाल राष्ट्र बैंकको वित्तीय स्रोत संकलन सम्बन्धि ब्यवस्थामा बैंक खाता खोलेर लामो समयसम्म नचलाइएका खाता निष्क्रिय हुने व्यवस्था छ। राष्ट्र बैंकले केही वर्ष अगाडि उक्त व्यवस्था संशोधन गर्दै तीन बर्षसम्म बचत खातामा कारोबार नभए त्यस्ता खाताहरुलाई निष्क्रिय गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको यो व्यवस्था अनुसार हेर्ने हो भने बैंकमा खोलिएका खाता मध्ये धेरै निष्क्रिय खाता देखिन सक्छ। त्यस्तै राष्ट्र बैंकले कल र चल्ती खाता ६ महिनासम्म कारोबारमा नआए त्यसलाई खातालाई समेत निष्क्रिय गर्ने व्यवस्था रहेको छ ।

नेपालको जनसंख्याभन्दा धेरै बैंक खाता

देशको जनसंख्याभन्दा धेरै बैंक खाता संख्या देखिएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ। तर, बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको संख्या भने ३ करोड ८० लाख ४८ हजार ८ सय ८६ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकहरुको नेपालभर शाखा विस्तारका कारण बैंकमा खाता खोल्नेको संख्या वृद्धि हुँदै गएको छ।

चालु आर्थिक वर्षको पाँच महिनासम्ममा बैंक तथा वित्त कम्पनीहरुको शाखा ११ हजार १ सय ८३ पुगेको छ । जसमा वाणिज्य बैंकहरुको ४ हजार ८ सय ४७ वटा, विकास बैंकहरुको १ हजार ५९ वटा, वित्त कम्पनीहरुको २ सय ४८ वटा , लघुवित्त वित्तीय संस्था ५ हजार २९ रहेका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप र कर्जा खाता कति ?

गत आर्थिक वर्षको बैशाख मसान्तसम्म नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्त कम्पनीहरुमा बैंक खाता ३ करोड ८० लाख ४८ हजार ८ सय ८६ खोलिएका छन् ।

गत आर्थिक वर्षको बैशाख मसान्तसम्म खोलिएका कुल बैंक खातामा ९५.५७ प्रतिशत निक्षेप खाता रहेका छन् भने ४.४२ प्रतिशत मात्र कर्जा खाता रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । कुल ३ करोड ८० लाख ४८ हजार ८ सय ८६ खोलिएका बैंक खातामा ३ करोड ६३ लाख ६६ हजार ४१ निक्षेप खाता रहेका छन् भने १६ लाख ८२ हजार ८ सय ४५ मात्रै कर्जा खाता खोलिएको राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये वाणिज्य बैंकका ३ करोड १५ लाख ६५ हजार ३ सय ७४ निक्षेप र १३ लाख ४० हजार कर्जा खाता, विकास बैंकहरुको ४० लाख ८८ हजार ४ सय ९८ निक्षेप र ३ लाख १ हजार ५ सय १४ कर्जा खाता, वित्त कम्पनीहरुको ७ लाख १२ हजार १ सय ६९ निक्षेप खाता र ४७ हजार ३ सय ३१ कर्जा खाता रहेको राष्ट्र बैंकले जनाएको छ।

तर, चालु आर्थिक वर्षको ६ महिनाको अवधिको तथ्याङ्क भने अद्यावधिक नगरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन्। बैंक खाताको तथ्याङ्क गत बैशाख महिनाकै हो । उनले भने, ‘राष्ट्र बैंकले चैत अन्तिममा सबै तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ। तर, पछिल्लो अवधिमा बैंक खाताको संख्या बढ्दै गएको छ। यो वर्ष पनि बैंक खाता खोल्नेहरुको संख्या बढ्ने आँकलन राष्ट्र बैंकको छ।’

जनतामा बैंकिङ पहुँच कति ?

पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्याधिकरुपमा बढ्दै गएको छ। सरकारको वार्षिक कार्ययोजनामा नै सबै नेपाली जनतामा वित्तीय साक्षरता बढ्दै बैंकिङ पहुँच पुर्याउने योजना रहेको छ।

मुलुकमा संघियता लागू भएसँगै गाउँगाउँसम्म बैंक पुगेको अवस्था छ भने सरकारी कारोबारमा अनिवार्यरूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएको छ। यसरी सरकारी कारोबार बैंकिङ प्रणाली लागू भएसँगै ग्रामिण क्षेत्रका सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको पाइन्छ।

त्यस्तै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको शाखा संख्यामा भएको वृद्धिले पहुँचमा मात्रै नभई प्रतिश्पर्धासमेत बढ्दै गएको छ । एउटा बैंक तथा वित्तीय संस्थाले ३ हजार ५ सयको हाराहारी जनसंख्यालाई सेवा दिइरहेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए । उनका अनुसार अहिले सहकारीसमेतको आधारमा जनसंख्याको ८० प्रतिशत हाराहारीमा बैंकिङ पहुँच पुगेको छ।

तर, गतवर्ष नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन रिर्पोट अनुसार एकजना व्यक्तिकै दर्जन बैंकमा खाता भएकाले ४० प्रतिशतभन्दा बढी नेपाली जनता अझै बैंकिङ पहुँच बाहिरै रहेका छन्। राष्ट्र बैंकको ०७६ को अध्ययनले निक्षेपकर्ताको तीनपुस्ते नामावली निकालेर दोहोरोपनासमेत हटाएको थियो ।

किन बढिरहेको छ बैंक खाता ?

पछिल्लो समय बैंकहरुले वित्तीय साक्षरता बढाउने काम तिव्रहरुमा सातै प्रदेशमा गर्दै आएका छन्। त्यस्तै बैंकहरु जनतालाई सहज बैंकिङ पहुँच बढाउनका लागि पनि तीव्रगतिमा अगाडि बढेका देखिन्छन् ।

बैंकहरुले जनतालाई बैंकिङ पहुँचमा ल्याउनका लागि विभिन्न योजना अघि सारेर बैंकमा खाता खोल्दा बैंक आफैंले रकम हालिदिने तथा शून्य रुपैयाँमा पनि बैंक खाता खोल्न पाउने व्यवस्था गरेकाले पनि बैंकमा खाता खोल्नेको संख्या बढेको छ।

अझ बैंकहरुले एक वर्ष अगाडि सबै नेपालीको खाता अभियान चलाएर प्रोत्साहनस्वरुप हरेक नयाँ खातामा १ सय रुपैयाँ बैंककै तर्फबाट मौज्दात राखिदिने अभियान चलाएकाले बैंक खातामा वृद्धि भएको बैंकर्स संघका अध्यक्ष उपाध्यायले बताए । उनका अनुसार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नाफा रकमबाट खर्च गर्नुपर्ने १ प्रतिशत रकम बैंकमा खाता खोल्ने जनताको खातामा मौज्दात राख्न प्रयोग गरेकाले पनि बैंक खाता वृद्धि भएको छ।

उनले भने, ‘कुनै व्यक्तिको बैंकको पुरानो खाता हुन्छ । त्यसमा बैंकको ऋण जोडिएको हुन्छ । बैंकको ऋण चुक्ता नहुने हुँदा बैंक खातामा पैसा जम्मा हुन्छ । त्यो खाता बन्द भएको हुँदैन । त्यसले पनि बैंक खाता वृद्धि भएको देखिन्छ। तर, बैंकले खाता खोल्दा एक सय रुपैयाँ जम्मा गरिदिने गरे पनि त्यसरी खोलिएका खाता सबै सक्रिय भने भएका छैनन् , प्रायः निष्क्रिय भएर बस्ने गरेका छन्।’

अध्यक्ष उपाध्यायले पुरानो बैंक खातामा नयाँ फोन नम्बर र संघियता आएसँगै नयाँ ठेगाना थप्दा पनि बैंक खातामा वृद्धि भएको बताए ।

अहिले केवाइसी अनिवार्य गरिएको छ तर पहिला बैंकमा केवाइसी नभरे पनि बैंक खाता खोल्ने प्रचलन थियो, त्यसले पनि बैंक खाता वृद्धि भएको उनको भनाइ छ । उनले भने, ‘उद्योगी व्यवसायीको बैंकमा धेरै खाता हुन्छन् । अन्य संस्थामा काम गर्ने कर्मचारीहरुले पनि जुन संस्थामा गयो त्यहिँ बैंक खाता खोल्ने गरेका छन्। एउटा व्यक्तिले धेरै बैंकमा खाता खोल्ने हुँदा एउटै बैंकमा भए सिंगल डाटा आउँछ तर फरक–फरक बैंकमा भएकाले एक जना व्यक्तिको जति बैंकमा खाता भयो त्यतिमा गणना हुन्छ।’

मानिसहरुले शेयर कारोबारका लागि, कसैले रेमिट्यान्समा लिन, ऋण लिन, बैंकमा बढी ब्याज पाउने योजना ल्याउँदासमेत खाता खोल्ने भएकाले खाता संख्या वृद्धि भएको अध्यक्ष उपाध्यायले बताए ।

पछिल्लो समय सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नु र सरकारले औपचारिक रोजगारीमा रहेकालाई बैंक खातामार्फत पारिश्रमिक भुक्तानी दिनुपर्ने व्यवस्था अनिवार्य गरेकाले पनि खाताको संख्यामा वृद्धि भएको बैंकहरुले जनाएका छन्। त्यस्तै, एक व्यक्तिले बैंक तथा वित्तीय संस्था नै पिच्छे फरक खाता खोल्न पाउने व्यवस्था भएकाले पनि जनसंख्याभन्दा बैंक खाता बढी भएको राष्ट्र बैंकले जनाएको छ।