
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढंगले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवर्द्ध गर्ने अपेक्षा लिइएको छ।
व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रुपमा डिजिटल वित्तीय सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि मंगलबार गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। जापान सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिका लागि परीक्षण गर्न लागिएको हो।
कार्यक्रममा गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएफसी र राष्ट्र बैंकबीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै नयाँ समझदारीको कार्यान्वयनबाट लघुकर्जा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे।
यसैगरी आईएफसीका आवासीय प्रतिनिधि फायेले नयाँ सहकार्य गर्ने अवसर दिएकोमा राष्ट्र बैंकलाई धन्यवाद दिँदै उक्त समझदारीले वित्तीय पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु डा. नेफिल मातङ्गि मास्के र देवकुमार ढकाललगायत बैंकका अन्य अधिकारीहरुको उपस्थिति थियो।




