January 31st, 2022

४४ लाख १८ हजार ५५५ करदाता पानमा दर्ता

बैंकिङ खबर/ कर प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान)मा दर्ता हुनेको सङ्ख्या ४४ लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म ४४ लाख १८ हजार ५५५ करदाता पानमा दर्ता भएका छन् । यस्तो सङ्ख्या असारसम्म ४० लाख ६६ हजार थियो । यस हिसाबले पाँच महिनामै साढे तीन लाख करदाता पानमा थपिएका हुन् ।

यस अवधिमा व्यक्तिगत पानमा दर्ता हुनेको सङ्ख्या २७ लाख नाघेको छ। जब कि असारसम्म व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या २४ लाख ७५ हजार थियो । रोजगारी गर्ने हरेक व्यक्ति पानमा आबद्ध हुनैपर्ने सरकारी नियमअनुसार पनि व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या पछिल्लो समय बढ्दो छ ।

अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म व्यवसायिक पान लिनेको सङ्ख्या १७ लाख चार हजार ४०४ पुगेको छ। गत असारसम्म १५ लाख ८० हजार करदाताले व्यवसायिक पान लिएको तथ्याङ्क छ। त्यस्तै करकट्टी गर्ने निकायमध्ये अहिलेसम्म १२ हजार ९१५ वटा निकायले पान नम्बर लिएका छन्। असारसम्म करिब १० हजार निकायले मात्र पान नम्बर लिएका थिए।

मूल्य अभिवृद्धि करमा दर्ता हुनेको सङ्ख्या पनि बढिरहेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मङ्सिरसम्म तीन लाख छ हजार ५७१ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको देखिन्छ। असारसम्म २९ हजार ७१४ करदाता मुअकरमा दर्ता भएका थिए।

अन्तःशुल्कमा दर्ता हुने फर्मको सङ्ख्या दुई लाख २३ हजार ४०२ पुगेको छ। असारसम्म एक लाख चार हजार १८२ फर्म मात्र अन्तःशुल्कमा दर्ता भएको देखिन्छ। छोटो समयमै अन्तःशुल्कमा दर्ता हुनेको सङ्ख्या दोब्बरले बढेको तथ्याङ्कले देखाउँछ। राजस्व सङ्कलनका लागि करदाताको पहिचान गर्नुपर्ने र करदातालाई करको दायराभित्र ल्याउन पान महत्त्वपूर्ण हुन्छ।गाेरखापत्रबाट


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]