
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले निष्काशन गरेको ‘विकास ऋणपत्र २०८० ‘ङ’ मा ५२ अर्ब ३ करोड ९५ लाख रुपैयाँ माग भएको छ । ऋणपत्र दुई बर्षमा परिपक्व हुने छ।
सरकारका लागि नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गरेको थियो। राष्ट्र बैंकले मागेभन्दा करिव ५ गुणा बढि आवेदन परेको छ।
राष्ट्र बैंकले बोलकबोल मार्फत बिक्री गरेको ऋणपत्रको अधिकतम ब्याज दर ५.७४ प्रतिशत कायम भएको छ। विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै संगठित संस्था र नेपाली नागरिकलाई खुला गरिएको थियो।
सरकारले चालु आर्थिक बर्ष २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कानुन संसदबाट पारित गरेको थियो। तर सरकारले भने २ खर्ब ३९ अर्ब रुपैयाँ मात्र उठाउने कार्यतालिका सार्वजनिक गरेको छ। त्यसमध्ये दोस्रो त्रैमासमा ६ अर्ब उठाएको थियो।
तेस्रो त्रैमासमा कुल एक खर्ब ५० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ। १० अर्बको विकास ऋणपत्र र साढे ६ अर्बको ट्रेजरी बिलमार्फत साढे १६ अर्ब रुपैयाँ थप आन्तरिक ऋण उठाइसकेको छ।
विकास ऋणपत्रको साँवा भुक्तानी २०८० माघ १२ गते हुनेछ। पाकेको ब्याज अर्द्धवार्षिक रुपमा भुक्तानी हुने छ। ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत हुन्छ।
राष्ट्र बैंक १० अर्बको यो विकास ऋणपत्रसहित चैतसम्म ५४ अर्ब ५० करोड रुपैयाँ उठाउने छ। यसमध्ये अर्को २ बर्ष अवधिको विकास ऋणपत्र माघ २५ गते जारी गर्ने छ। यो ९ अर्ब ५० करोड रुपैयाँको हुने छ। ४ वर्षे अवधिको विकास ऋणपत्र माघ १६ र फागुन ३ गते जारी गर्ने छ। यो कुल २५ अर्बको हुने छ भने पाँच बर्ष अवधिको विकास ऋणपत्र फागुन ८ गते जारी गर्ने छ। यो १० अर्बको हुने छ।




