
बैंकिङ खबर/ सरकारले ८ अर्ब ६० करोड रुपैयाँ ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाएसँगै तरलतामा चाप देखिएको छ । आइतबार बैंक तथा वित्तीय संस्थाहरुले ५० अर्ब ३३ करोड ५० लाख रुपैयाँ स्थायी तरलता सुविधा उठाएका छन्। बैंकहरुसँग ऋणपत्र खरीद गर्ने र अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्ने पैसासमेत नभएपछि उनीहरुले २८ दिनयताकै सबैभन्द बढि स्थायी तरलता सुविधा प्रयोग गरेका हुन्।
यसबीचमा सापटी लिने क्रम घटेर १३ करोड ९० लाख रुपैयाँमा झरिसकेको थियो। सरकारका लागि नेपाल राष्ट्र बैंकले आइतबार ९१ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब नयाँ आन्तरिक ऋण उठाइदिएको छ। पुरानो ३ अर्ब ६० करोड आन्तरिक ऋण नवीकरणसमेत गरेको छ। यही दबाबले आइतबार राष्ट्र बैंकसँग लिने सापटी ह्वात्तै बढेको हो। एउटा बैंकले आइतबार ३९ करोड रुपैयाँ ओभरनाइट रिपोसमेत चलाएको छ।
