Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

फरवार्ड माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने

२०७८ माघ २ गते


बैंकिङ खबर/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । माइक्रोफाइनान्सको ९ औं वार्षिक साधारण सभामा उक्त घोषणा भएको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष भगवती चौधरीले ग्रामीण भेगमा रहेका महिलाहरुको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।

साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष चौधरीले २०५९ सालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्न बित्तीय मध्यस्थता इजाजत दिए पश्चात शुरु गरिएको माईक्रोफाइनान्स लघुवित्त कार्यक्रमलाई २०६९ मा ‘घ’ वर्गको लघुवित्त विकास बैंक अर्थात् लघुवित्त वित्तीय संस्था स्थापना गरिएको जानकारी दिइन् ।

स्थापनामा ३० प्रतिशत सर्वसाधारणको शेयर कायम गरी ग्रामिण महिलाको २५, एभरेष्ट बैंकको २५, आरएमडिसीको १० तथा व्यक्तिगत शेयर १० प्रतिशत कायम गरी संस्था अगाडी बढेको जनाउँदै ९ वर्षको अवधिमा संस्थाले ग्रामिण अर्थतन्त्रलाई टेवा पुर्याउने गरी काम गरेको चौधरीले बताइन् ।

संस्थाले व्यवसायिक कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तरगत महिला शशक्तिकरण, वित्तीय साक्षरता समेत फैलाउँदै विपन्न क्षेत्रका महिलाहरुको आर्थिक सशक्तिकरणमा काम गरेको चौधरीले बताइन् ।

लघुवित्त कार्यक्रमले आर्थिक, सामाजिक रुपान्तरण गर्दै स्वास्थ्य, शिक्षा, आवास लगायतका आभारभुत आवश्यक्ता पुरा गर्नसमेत भुमिका खेलेको बताउँदै चौधरीले भनिन्–‘हिजोसम्म शिक्षाको महत्व नबुझेका ग्रामीण समुदायका विपन्न परिवारहरुले आज आफ्ना सन्तानलाई उच्च शिक्षा दिनुपर्छ भन्ने बुझेका छन् । लघुवित्त कार्यक्रमकै माध्यमबाट गरिवी न्यूनीकरण भएको छ, रोजगारीका अवसरहरुको सिर्जना भएका छन् ।’ पछिल्लो समय संस्थाले सुचना र प्रविधीको प्रयोग गरी सेवा दिएका कारण महिला दिदीबहिनीहरुमा सूचना र प्रविधीको पहुँच समेत बढेको चौधरीको भनाई छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले माइक्रोफाइनान्सले वित्तीय साक्षरता दिँदै गाउँगाउँमा आर्थिक कारोबार गरेको बताए । महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउँदा गाउँ, समाज र परिवार समृद्ध र सुखी हुने बताउँदै फरवार्ड माइक्रोफाइनान्सको मुख्य लक्ष्य भनेकै ग्रामिण आर्थिक सवलीकरण रहेको जनाए ।

चौधरीले आर्थिक वर्ष २०७७/०७८ मा ५१ करोड ३ लाख ३४ हजार पाँच सय पाँच रुपैया मुनाफा आर्जन गर्न सफल भएको बताउँदै २०७८ पुष २८ गतेसम्म ४० जिल्लाका १५९ शाखा कार्यालयमार्फत् दुई लाख ८१ हजारभन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिएको जानकारी दिए । साथै, उनले ग्राहक सदस्यसँग २० अर्ब २३ करोड भन्दा बढी लगानी रहेको तथा ७ अर्ब २० करोड भन्दाबढी बचत सङ्कलन गरेको जानकारी दिए ।

सभाले शेयरधनीलाई ४२ प्रतिशत लाभांश पारित गरेको छ । शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर तथा ७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरिएको हो । बोनस शेयर वितरणपछि वित्तीय संस्थाको चुक्ता पुँजी ८४ करोड ४४ लाख ५० हजार नौ सय ८७.५० हुनेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा आर्थिक वर्ष २०७७७८ को नाफारनोक्सान तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयपनि पारित गरेको छ ।

साधारण सभाले व्यक्तिगत शेयर समुहबाट भगवती चौधरी, सर्वसाधारण शेयर समुहबाट बलराम चौधरी तथा जगतजंग जी.सी. गरी ३ जना सञ्चालकलाई निर्बिरोध निर्वाचित गर्दा संस्थागतबाट ग्रामीण महिला उत्सुकता विकास मञ्चकी राजकुमारी तब्दार र एभरेष्ट बैंकबाट आशुतोष शर्मा र केशबराज पौडेललाई प्रतिनिधित्व गर्ने निर्णय अनुमोदन गरेको छ ।