
बैंकिङ खबर/ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को ११ औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा शुक्रवार सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्दै संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा.मानबहादुर बीकेले साधारण सभा सम्पन्नताको शुभकामना दिँदै समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने हो भने राज्यले नीतिगत रुपमा राज्यले अंगिकार गरि लघुवित्त प्रवर्धन तर्फ ध्यान दिनु पर्ने बताए । लघुवित्तको पहिचान भनेकै जस्तोसुकै महामारी चाहे स्वास्थ्य महामारी होस, चाहे औद्योगिक महामारी होस, चाहे प्राकृतिक विपत्ति नै किन नहोस् हरेक सुख दुःखमा समुह सदस्यहरुलाई उनीहरुकै घरदैलोमा पुगी लाभ पुर्याउने कार्यमा जनउत्थान उदाहरणीय रहेको बताए।
उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आ.व. २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व. २०७७/०७८ को मुनाफाबाट ०७८ आषाढ मसान्तमा कायम रहेको चुक्तापूँजी रु.११ करोड ८३ लाख २४ हजार ८ सयको १.३१५७ प्रतिशतले हुन आउने रकम रु. १५ लाख ५६ हजार ९ सय ६ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र २५ प्रतिशतले हुने रकम रु.२ करोड ९५ लाख ८१ हजार २ सय बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने, संस्थाको अधिकृत पूँजी रु १५ करोडबाट बृद्धि गरी रु ५० करोड पुर्याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रियस्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ती/समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको छ।
सभाको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसका विभिन्न भेरियन्टहरुले विश्व समुदायलाई अझै पनि आक्रान्त बनाइरहेको विद्यमान विषम् परिस्थितीमा समेत वित्तीय संस्थाले प्रवाह गर्ने गुणस्तरीय सेवामा कुनै पनि प्रकारको कमी महशुस नगराई आफ्ना गतिविधिहरु सञ्चालन गरीरहेको र आगामी दिनमा समेत सो विषयमा पूर्ण सचेत रही कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा संस्थापक यमबहादुर बि.के., पूर्वसञ्चालक तथा संस्थापक माधवप्रसाद नेपाल, सर्वसाधारण शेयरधनीको तर्फबाट माधवप्रसाद पाण्डे लगायतले आफ्नो राय सुझावसहित शुभकामना व्यक्त गरेका थिए।