January 14th, 2022

मिथिला लघुवित्तको १३ औं बार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

बैंकिङ खबर/ धनुषाको ढल्केवरमा रहेको मिथिला लघुवित्त वित्तीय संस्था लि. को १३ औं बार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति अध्यक्ष श्यामप्रसाद शाहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा ताल्चा भँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको तेह्रौं साधारण सभाले चार वटा साधारण प्रस्ताव र छ वटा विशेष प्रस्तावहरु पारित गरेको छ ।

वौवा होटल लालगढ, धनुषामा भएको १३ औं साधारण सभाले अध्यक्षले प्रस्तुत गरेको आ.ब. २०७७/०७८ को बार्षिक प्रतिवेदन, लेखा परिक्षणको प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिकको विषयमा राखिएको प्रस्तावलाई पारित गरेको छ । त्यसैगरी ०७८ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृती गरेको छ ।

त्यस्तै, प्रवन्धपत्र र नियमावली संशोधन स्वीकृतीको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने र भविष्यमा अन्य उपयुक्त लघुवित्तीय संस्थाहरुलाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सो सँग सम्वन्धित आबश्यक सम्पुर्ण काम कारवाही अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

साथै यस सभाले हाल कायम रहेको जारी पूँजीको ६०% (प्रतिशत) संस्थापक शेयरधनी समूहको र ४०% (प्रतिशत) सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व रहेकोमा सो संरचना ५१% (प्रतिशत) संस्थापक शेयरधनी समूहको र ४९% (प्रतिशत) सर्वसाधारण शेयरधनी समूहको शेयर स्वामित्व हुने गरी पूँजीको संरचना परिवर्तन गर्ने सम्बन्धी पनि प्रस्ताव पारित गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]