सहकारीको सन्दर्भ ब्याजदर स्वचालित बनाउने गृहकार्यमा सहकारी विभाग


Bankingkhabar /January 9, 2022

बैंकिङ खबर।

सहकारीको ऋणमा अधिकतम ब्याजको सीमा (सन्दर्भ ब्याजदर) पुनरावलोकन तथा कार्यान्वयमा समस्या हुन थालेपछि सहकारी विभागले स्वचालित बनाउने भएको छ।

बजारमा ब्याजदर बढ्दा सन्दर्भ ब्याजदर पनि बढ्ने र घट्दा पनि घट्ने गरी ब्याजदर पुनरावलोकन गर्ने नीति बनाउन लागिएको हो। यसका लागि सहकारी विभागका उपरजिष्टार टोलराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको ब्याज निर्धारण सुझाव उपसमिति’ गठन गरेको छ। समितिले बजारको अवस्थाका आधारमा ब्याजदर निर्धारणसम्बन्धी मापदण्ड तय गर्न सुझाव दिने कार्यभार तोकिएको छ।

सहकारी ऐन तथा नियमावलीमा सहकारीको ऋण लगानीको ब्याजमा सीमा रहने गरी सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था गरिएको छ। सोही प्रावधानका आधारमा सहकारी विभागका रजिष्टारको संयोजकत्वमा रहेको समितिले ब्याजदर तोक्ने व्यवस्था छ।

उक्त समितिले ०७६ साउनदेखि सहकारीमा १६ प्रतिशत ब्याजदर कायम गरेको थियो । त्यसपछि १५ कात्तिक २०७७ देखि घटाएर १४.७५ प्रतिशतमा झारिएको थियो। अहिले बजारमा तरलता अभाव भएपछि ब्याजदर पुनरावलोकन गर्न दबाब बढेपनि समितिले कुनै निर्णय गर्न सकेको छैन।

समितिले बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था वा संघहरूको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, ‘क’ वर्गको बैंकहरूको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा मन्त्रालय, नेपाल राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदन, राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरूको सुझावलाई आधार मानेर सन्दर्भ ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था छ।

रजिष्टारको संयोजकत्वमा रहने सन्दर्भ ब्याजदर निर्धारण समितिमा सहकारी र अर्थ मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ तथा विषयगत सहकारी संघका प्रतिनिधि सदस्य छन्।

सन्दर्भ ब्याजदर निर्धारण समितिले ब्याजदर समय समयमा पुनरावलोकन गर्ने उल्लेख भए पनि कति समयमा परिवर्तन गर्ने भन्नेबारे कुनै उल्लेख छैन।


सोसिअल मेडिया