
बैंकिङ खबर।
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा उनले संस्थाको आर्थिक वर्ष ०७७/०७८ को उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीका बारेमा जानकारी गराए।
संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उनको भनाइ छ।
कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारी मध्ये श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए। कोरोना भाइरसको विद्यमान अवस्थाको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सो को कारण सहकारी संस्थामा पर्न सक्ने समस्याहरुको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए।
हाल ललितपुरकाे पुल्चोकमा रहेकाे संस्थाले गतवर्षदेखि ललितपुर गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग” समेत संचालन गरेकाे छ। संस्थाले निकट भविष्यमा काठमाडौंको नयाँबजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको छ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मावि, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ।
साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ।