Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हिमालयन बैंकले बल्ल गर्‍याे मर्जरको निर्णय

२०७८ पुष ५ गते


बैंकिङ खबर/हिमालयन बैंकले अन्ततः नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ । हिमालयन बैंकको आइतबार साँझ भएको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैंकले आगामी शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा डाक्ने जनाइएको छ । साधारणसभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुनेछ ।

यसअघि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो । यही बीचमा बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम गौतमका ठाउँमा प्रचण्डमान श्रेष्ठ आएपछि मर्जर प्रक्रिया रोकिएको थियो ।
मर्जर रोकिएपछि राष्ट्र बैंकले दुई पटक समय थप गरेको थियो । हिमालयन बैंकको मंसिर १० गतेको सञ्चालक समिति बैठकले मर्जर प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । तर श्रेष्ठले अनावश्यक माग राखेर प्रमुख कार्यकारीलाई पत्र लेखेपछि अवरुद्ध भएको थियो ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा प्रचण्डमान श्रेष्ठ (मनोजबहादुर श्रेष्ठसमेत) समूहको समर्थन कहिले पनि थिएन । बाँकी सबै सेयरधनी र राष्ट्र बैंकको चाहनामा मर्जर अगाडि बढेको थियो । मर्जर प्रकृया अवरुद्ध भएपछि राष्ट्र बैंकले हिमालयन बैंकको नगद लाभांश नै रोकिदिएको थियो । उसले एकीकृत कारोबार भएको दिन साबिकको हिमालयन बैंकका सेयरधनीले पाउने सर्त राखिदिएको थियो । यो सर्तविरुद्ध श्रेष्ठ समूहका तर्फबाट एक सेयरधनीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । मुद्दामा उनीहरुले अन्तरिम आदेश पाएनन्, राष्ट्र बैंकको सर्त नै कार्यान्वयन गर्ने बाटो खुलेको थियो ।

यसपछि मर्जरमा थप दबाब पर्दै गएको थियो । यस बीचमा राष्ट्र बैंकका अधिकारीहरुले मर्जरमा लैजान अनेक दबाब सृजना समेत गराएका थिए । अन्ततः आइतबारको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

मर्जर बराबरी हैसियतमा हुने छ । नाम भने हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन् ।

हिमालयन बैंकभन्दा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा कम छ । उनीहरुको आगामी चार वर्षभित्र समायोजन हुने गरी मिलाइएको छ । सफ्टवेयर हिमालयन बैंककै प्रयोग हुने छ । दुबै बैंकबीच गत वैशाख ३० गते मर्जरमा जाने सहमति भएको थियो ।

Ad