
बैंकिङ खबर/ लघुवित्तकर्मीहरुमा लघुवित्तको मर्म, भावना र सिद्धान्त अनुसारको संस्कार र अनुशासन कमी हुँदै गएको र यसको समाधानको लागि प्रमुख कार्यकारी अधिकृतहरु उदाहरणीय बन्नु आवश्यक रहेको विज्ञहरुले औँल्याएका छन् । स्वावलम्बन विकास केन्द्रले सत्राैँ सम्बाद श्रृंखला अन्तर्गत आयोजना गरेको “लघुवित्तमा जनशक्ति विकास र व्यवस्थापन ः समस्या र समाधान” विषयक वेविनारका वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
वेविनारलाई सम्बोधन गर्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले पछिल्लो समय लघुवित्तमा ज्ञान, सीप, स्रोत एबं साधनको उपलब्धता सहज भए पनि जनशक्ति संस्कारयुक्त र अनुशासित हुन नसकेकोमा चिन्ता व्यक्त गरे । “नेपालमा लघुवित्त कार्यक्रम शुरु गर्दा हामी संग न आर्थिक स्रोत थियो नत दक्ष जनशक्ति नै थियो ।
लघुवित्त उपयुक्त कार्यक्रम छ भन्ने महशुस भएर अलिअलि ज्ञानको भरमा शुरु गरेका थियौँ । ऊ बेला धेरैले सदस्यलाई ऋण दिने पैसा पत्याएनन् । गरीबहरुले ऋण तिर्दैनन, उनीहरु लगानी गर्न योग्य हैनन भन्ने सोच थियो । व्यक्तिगत चिनजानको भरमा ऋण जुटाउनु पर्ने अवस्था थियो । डा. हरिहर देव पन्त र मैले धेरै ठाउँमा व्यक्तिगत जमानी वसेर आर्थिक स्रोत जुटाएर लघुवित्त शुरु गरेका थियौँ । त्यो वेला लघुवित्तवारे ज्ञान भएका औँलामा गन्न सकिने मानिस मात्र थिए । पछि विभिन्न तालिमहरु दिएर केहि जनशक्ति तयार भयो । त्यो जनशक्ति धेरै अनुभवी वा क्षमतावान त थिएन तर संस्कार युक्त र अनुशासित थियो । अहिले लघुवित्त सेवा गरीवमुखी भन्दा पनि टाठाबाठा कहाँ पुग्यो । लक्षित वर्गमा पुग्न सकेन । साथै कर्मचारीहरु पनि आफु केन्द्रित भए । अर्को भनेको प्रणाली ‘सिस्टम’ नबस्नु हो । हामीले संस्कारयुक्त संस्थागत प्रणाली विकास गर्न सकेका छैनौँ । यसको पहिलो जिम्मेवारी भनेको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को हो । सिईओ संस्कार र अनुशासित भयो भने त्यो अरुले पनि अनुशरण गर्छन । त्यसैले प्रमुख कार्यकारी अधिकृतहरु उदाहरणीय वन्नु जरुरी छ” श्रेष्ठलको भनाई थियो ।
प्रमुख कार्यकारी अधिकृतहरु असल भयो भने जुन सुकै समस्याको समाधान हुने वताउदै श्रेष्ठले भने “लघुवित्तमा मुनाफाको मात्र कुरा हुन्छ । गुणस्तरको कुरा हुदैन । मुख्य कुरा कर्जा सुरक्षित हुनु पर्यो । कर्जा लक्षित बर्गकोमा पुग्नु पर्यो, उसको उन्नती हुनु पर्यो र त्यो फर्केर लघुवित्त संस्थामा नै आउने हो । राम्रो काम भए पछि त्यहाँ मुनाफा पनि आफै हुन्छ र लाभांस पनि वाडिन्छ । वढाएको तलवको असर तीन महिना होला । मुख्य कुरा कर्मचारी संग सिईओको घनिष्ट सम्बन्ध हुनु पर्यो । त्यस्तै सम्वन्ध फिल्ड कर्मचारी र ग्राहक सदस्यको विचमा पनि हुनु पर्यो । अहिले लघुवित्तमा कर्मचारीहरु संग पर्याप्त समय छ । सिईओहरुले उनीहरुसँग भएको अतिरिक्त समय उपयोग गराउन सकेको छैनन् । जसले गर्दा कर्मचारीले क्षमता अनुसार काम गर्न सकेको छैन । त्यसैले सिईओले कर्मचारी परिचालन, समस्याहरुको समयमै समाधान, फिल्ड स्तरमा गएर धेरै भन्दा धेरै त्यहाँको अवस्था बुझ्ने र बोर्डलाई लघुवित्तको मर्म र भावना अनुरुप काम गर्न सहजीकरण गर्ने कामहरु गर्नु जरुरी छ । साथै सिईओको आनीवानी, व्यवहार, सोच, चरित्र, क्रियाशिलता आदिमा संस्थाको सफलता निहित हुन्छ । यसले जनशक्ति उचित तरिकाले व्यवस्थापन हुन्छ र गरिबी, कार्बन उत्सर्जन र बेरोजगारी जस्ता अहिलेको ठूला समस्याहरुसँग जुध्न पनि अहं भूमिका खेल्न सक्छ ।”
वेविनारका सहजकर्ता छिमेक सेवा समाज केन्द्र्रका अध्यक्ष रामचन्द्र जोशीले जनशक्तिको प्रभावकारी व्यवस्थापन र परिचालनको लागि सिईओहरुले कर्मचारीका समस्या संग परिचित भएर काम गर्नु जरुरी रहेको धारणा राखे ।
“फिल्डबाट काम गरेर आएको सिईओ भएको लघुवित्त संस्थामा जनशक्ति परिचालनको र व्यवस्थापनको धेरै ठूलो समस्या छैन । त्यसैले नियमित फिल्ड भ्रमण गरेर कर्मचारीको वारेमा जानकारी लिनु जरुरी छ । कर्मचारीले काम गर्ने अनि आफू निर्देशन मात्र दिने भए समस्या आउँछ । शुरु देखि सदस्यहरुको उद्यम वा व्यवसाय स्थल सम्म पुगेर उनीहरुको गुणस्तर सुधार गर्नु पर्छ । त्यसले गर्दा सदस्यहरु कर्जा लिन सक्षम हुन्छन र कर्जा प्रवाह वढ्छ । साथै व्यवस्थापन र कर्मचारीको विचमा सुमधुर सम्वन्ध राख्ने, मेरो कर्मचारी नै पहिलो सम्पति हो भन्ने मान्यता अनुरुप तल्लो तहका कर्मचारीलाई माथिल्लो कर्मचारीहरुले उत्साह र उर्जा दिने, कर्मचारीहरुलाई सिर्जनशील वनाई राख्ने र अनुशासन वढाउने । असन्तुष्टहरुका कुरा सुन्ने गर्नु पर्छ । साथै कर्मचारीको उचित तरिकाले विवरण राख्नु पर्छ र कर्मचारीको कमी कमजोरी पनि औल्याई दिनु पर्छ । यसो भयो भने धेरै समस्याको समाधान हुन्छ” जोशीको भनाई थियो ।
कार्यक्रमका वक्ता स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडाले कर्मचारीहरुलाई संस्था प्रति भावनात्मक रुपले पनि उत्तरदायी वनाउनु पर्नेमा जोड दिए । “लघवित्तमा पहिले भन्दा अहिले सकारात्मक प्रणाली विकास भएको छ । जनशक्ति दक्ष र तालिम प्राप्त छ । विभिन्न देश र देश वाहिरको तालिम पनि पाएका लघुवित्तकर्मीहरु छन् । तर कर्मचारीहरुले त्यसलाई शतप्रतिशत लागु गरेको अवस्था देखिँदैन । यसका लागि हामीले कर्मचारीलाई भावनात्मक रुपले संस्था र संस्थाको काम प्रति सकारात्मक वनाई राख्ने उपाय अपनाउनु पर्छ । साथै लघुवित्त सेवाभावले गर्ने काम हो र हामीले गर्दा विपन्न बर्गका महिलाहरुको जीवनस्तर माथि उठेको छ भन्ने गौरव महशुस गराउन सक्नु पर्छ । त्यही अनुसार काम गर्न पे्ररित गर्नु पर्छ । साथै संस्थाले सेवा गरेर मुनाफा पनि कमाउनु पर्छ र यसमा सबैको उन्नति हुन्छ भन्ने कुरा बुझाउनु पर्छ । यसको लागि नियमित सरुवा बढुवा एवं प्रोत्साहन गरे संस्थाको लक्ष र उद्देश्य पुरा गर्न सहज हुन्छ” खतिवडाले भने ।
वेविनारका अर्का वक्ता जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले लघुवित्तले संस्था, कर्मचारी र लक्षित समूहको सामुहिक हितकोलागि काम गर्नु पर्ने बताउँदै यसको लागि व्यवस्थापन र कर्मचारी विच राम्रो समन्वय गरेर अघि वढ्नु जरुरी रहेको धारणा राखे । “हामी व्यवस्थापनमा समस्या सिर्जना गर्ने होइन की समस्या समधान गर्नको लागि वसेका हौँ भन्ने बुझ्नु पर्छ । यसको लागि कर्मचारीलाई पहिलो त संस्था राम्रो भयो भने हामी सबैलाई राम्रो हुन्छ भन्ने बुझाउनु जरुरी छ । व्यवस्थापनमा जिम्मेवारी, जवाफदेहिता र अधिकार महत्वपूर्ण कुरा हुन्छ । कर्मचारीलाई जिम्मेवारी दिने, जवाफदेही वनाउने र अधिकार सम्पन्न गर्ने काम पनि गर्नु पर्छ । यसको बुझाई तल देखि माथि सम्म हुनु पर्छ र यसलाई बुझ्न र बुझाउन सक्नुपर्छ । अर्को कुरा भनेको व्यक्तिगत र व्यवसायिक काम महत्वपूर्ण हुन्छ । कर्मचारीको नराम्रो आनीवानी बारे पनि हेर्नु पर्ने अवस्था छ । अव कर्मचारी अडिट गर्नु पनि जरुरी भएको छ ।
लघुवित्तमा कारोवार ठूलो छ । यो सही ढंगले परिचालन भएको छ कि छैन भनेर नियमित रुपमा हेर्नु पर्ने वेला आएको छ” मण्डलले भने । लघुवित्त संस्थाले संस्था, कर्मचारी तथा लक्षित वर्गको त्रिपक्षिय भलो हुने गरी काम गर्नु पर्नेमा संस्था तथा व्यक्ति केन्द्रित भएको र लक्षित समुदायको हित टाढा हुन पुगेको बताउँदै मण्डलले यस्तो गलत संस्कार हटाउन समयमै काम शुरु गर्नुपर्ने धारणा राखे । वेविनारमा विभिन्न बैंक, गैरसरकारी वित्तीय संस्था, लघुवित्त तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुका १४६ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।




