Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न महाभारत, समिति गठनमै विवाद

२०७८ मंसिर २९ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डलाई अध्यक्ष छनोट गर्न महाभारत भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति गठन विषयमा अर्थमन्त्रालय र योजना आयोगबीचको भनाई नै बाझिएको छ । अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा.जीवनाथ धिताल रहेको जानकारी दिएका छन् भने योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलले भने छनोट समिति गठन भएको विषय आफूलाई जानकारी नभएको बताएका छन् ।

पौडेलका अनुसार एकजना उपसचिव अर्थमन्त्रालयले समिति गठन गर्न लागेको छ । उनले भने, ‘आयोगबाट सम्बन्धित हेर्ने सदस्यलाई पठाइदिन भनेर अनुरोध गरेको पत्र लिएर आउनु भएको थियो, आयोगले निर्णय गरेको छैन ।’ यसअघि अर्थमन्त्रीले मन्त्रीस्तरको समिति गठन गरेका थिए । जसको संयोजक पौडेलले थिए । माओवादीले भने अनुसारको समिति गठन नभएपछि विवाद निस्किएको हो ।

धितोपत्र बोर्ड ऐनमा अध्यक्ष छनोटको लागि योजना आयोगको सम्बन्धित हेर्ने सदस्य भनिएको छ । पूँजी बजार सम्बन्धित क्षेत्र उपाध्यक्षले हेर्न सक्छन् । तर,माओवादीले यसअघि रामकुमार फ्युयाल संयोजक रहेको भन्दै पौडेल समितिको संयोजक बनेपछि विवाद गरेका थिए । तर, अर्थमन्त्रीले मन्त्रीपरिषद्ले गर्नुपर्ने समिति आफै बनाएपछि नयाँ समिति गठन गर्नु परेको थियो ।

विवादका बीच बोर्डको अध्यक्षका लागि आवेदन पुनः खुल्ने भएको छ । अध्यक्ष छनोटको विषयमा कानूनी रुपमा विवाद देखिएपछि अध्यक्ष छान्ने समिति नयाँ गठन हुने र सो समितिले पुनः आवेदन माग्ने बताइएको छ ।
धितोपत्र बोर्डको अध्यक्षको छनोट समिति अर्थ मन्त्रालयले बनाएको छनोट समितिले बोर्ड अध्यक्ष बन्नको लागि आवश्यक योग्यता भएका व्यक्तिलाई आवेदन दिन आह्वान पनि गरेको थियो । सो अनुसार १२ जना व्यक्तिले आवेदन दिएका थिए। तर, छनोट समिति अर्थ मन्त्रालयले गठन गर्ने कि सरकारले गठन गर्ने भन्ने विवादसँगै अहिले परेका आवेदनको विषयमा कुनै निर्णय नहुने भएको छ ।

बोर्डको अध्यक्षका लागि करिव एक दर्जनले नाम अघि सारेका छन्। आवेदन दिनेमा सहकारी बोर्डका अनिल पौडेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारी रहेका थिए । यस्तै नेप्सेका पूर्वमहाप्रबन्धक सिताराम थपलिया, सेयर बजार विश्लेषक डा. केशवप्रसाद श्रेष्ठ, तथा सेयर बजार क्षेत्रकै जीवन अमगाई, सोही क्षेत्रका रमेश हमाल, अम्बिका शर्मा लामिछाने, कर्मचारी सञ्चय कोषका पूर्व कर्मचारी कृष्णप्रसाद आचार्य, तथा बिष्णु बस्यालले अध्यक्ष पदमा आवेदन भरेका थिए । उनीहरुमध्येबाट छनोट समितिले ३ जनाको नाम सिफारीस गर्ने र एक जनालाई मन्त्रिपरिषदले नियुक्ती गर्ने प्राबधान छ ।

आईपीओ निष्कासनसहितका कामहरु अबरुद्ध

बोर्ड दुई महिनादेखि नेतृत्वविहीन हुँदा प्राथमिक शेयर (आईपीओ) निष्कासनमा ढिलाइ भएको छ । अहिले २५ कम्पनी (आईपीओ) निष्कासनको लागि पाइप लाइनमा रहेका छन् । आईपीओ निष्कासनको अनुमति पर्खेर बसेका ती कम्पनीको ६ अर्ब ८० करोड रुपैयाँबराबरको ६ करोड ८० लाख कित्ता शेयर बोर्डमै अलपत्र परेको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि असोज १९ गते बर्खास्त भएका थिए । त्यसयता बोर्डमा नयाँ नेतृत्व आउन सकेको छैन ।

बोर्ड नेतृत्व विहिन हुँदा आईपीओ निष्कासनमा ढिलाइ भएको हो । बोर्डअनुसार प्रशासनिक कामको सम्पूर्ण अधिकार अध्यक्षमा रहेको हुन्छ । जसका कारण कर्मचारीले निष्कासन अनुमति दिने जोखिम नलिँदा आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
अध्यक्ष निलम्बन भएपछि सरकारले दैनिक प्रशासनिक काम चलाउनका लागि कार्यकारी निर्देशक निरज गिरीलाई जिम्मा दिएको छ । उनलाई धेरै अधिकारहरु नदिँदा कामकारबाहीहरु नियमित हुन सकेका छैनन् । बोर्डले ९ भदौमा एफपीओ निष्कासन अनुमति दिएयता गत असोजमा एक ऋणपत्र निष्कासनको स्वीकृति दिएको थियो ।

ऋणपत्रलाई स्वीकृति दिनैपर्ने दबाब थेग्न नसकेपछि बाध्य भएर बोर्डले उक्त ऋणपत्र स्वीकृत गरेको हो । उक्त ऋणपत्र पनि बोर्ड सञ्चालक समिति बैठकबाट निर्णय गराई अनुमति दिइएको हो । सो ऋणपत्रबाहेक कुनै पनि सार्वजनिक निष्कासनलाई अनुमति नदिइएको बोर्डले जनाएको छ ।

छिट्टो बार्ड अध्यक्ष नियुक्तिको माग

लगानीकर्ताहरूले माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मासँग बोर्ड अध्यक्ष नियुक्ति लगायतका विषयमा छलफल गरेका छन् । लगानीकर्ताहरूका संघसंस्था सहभागि रहेको पुँजी बजार सुदृढीकरण वृहत कार्यदलका पदाधिकारीहरूले मन्त्री शर्मासँग भेटेर पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका ५८ बुँदे सुधारका काम गर्न आग्रह गरेका छन् । भेटमा अर्थमन्त्री शर्माले पुँजी बजारको दिगो विकासका लागि आफू लागिरहेको बताउँदै लगानीकर्ताको माग पूरा गर्ने आश्वासन दिएको लगानीकर्ता अम्बिका पौडेलले जानकारी दिइन् ।

Ad