
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) दुई महिनादेखि नेतृत्वविहीन हुँदा प्राथमिक शेयर (आईपीओ) निष्कासनमा ढिलाइ भएको छ ।
अहिले २५ कम्पनी (आईपीओ) निष्कासनको लागि पाइप लाइनमा रहेका छन् । आईपीओ निष्कासनको अनुमति पर्खेर बसेका ती कम्पनीको ६ अर्ब ८० करोड रुपैयाँबराबरको ६ करोड ८० लाख कित्ता शेयर बोर्डमै अलपत्र परेको छ ।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि असोज १९ गते बर्खास्त भएका थिए । त्यसयता बोर्डमा नयाँ नेतृत्व आउन सकेको छैन । बोर्ड नेतृत्व विहिन हुँदा आईपीओ निष्कासनमा ढिलाइ भएको हो । बोर्डअनुसार प्रशासनिक कामको सम्पूर्ण अधिकार अध्यक्षमा रहेको हुन्छ । जसका कारण कर्मचारीले निष्कासन अनुमति दिने जोखिम नलिँदा आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
अध्यक्ष निलम्बन भएपछि सरकारले दैनिक प्रशासनिक काम चलाउनका लागि कार्यकारी निर्देशक निरज गिरीलाई जिम्मा दिएको छ । उनलाई धेरै अधिकारहरु नदिँदा कामकारबाहीहरु नियमित हुन सकेका छैनन् । बोर्डले ९ भदौमा एफपीओ निष्कासन अनुमति दिएयता गत असोजमा एक ऋणपत्र निष्कासनको स्वीकृति दिएको थियो ।
ऋणपत्रलाई स्वीकृति दिनैपर्ने दबाब थेग्न नसकेपछि बाध्य भएर बोर्डले उक्त ऋणपत्र स्वीकृत गरेको हो । उक्त ऋणपत्र पनि बोर्ड सञ्चालक समिति बैठकबाट निर्णय गराई अनुमति दिइएको हो । सो ऋणपत्रबाहेक कुनै पनि सार्वजनिक निष्कासनलाई अनुमति नदिइएको बोर्डले जनाएको छ ।
अध्यक्षमा १२ आकांक्षी
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थ मन्त्रालयले २५ कात्तिकसम्म आवेदन माग गरेको थियो । जसमा १२ जना आकांक्षीले आवेदन दिएका थिए । पछिल्लो समय आवेदन पुनः खुलाउने हल्ला चलेसँगै बोर्डले तत्काल नेतृत्व पाउने छाँटकाँट देखिएको छैन । जसका कारण अझै केही महिना बजारमा आईपीओ नआउने देखिन्छ । नयाँ अध्यक्ष नियुक्त नहुँदा दैनिक प्रशासनिक काम बाहेक नीतिगत निर्णयहरु बोर्डले गर्न सकेको छैन ।
धितोपत्र ऐन अनुसार अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा सरकारले समिति गठन गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्रालयले आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा छनोट समिति बनाएको थियो । पौडेल संयोजकत्वको समितिले काम शुरु गरेपनि मन्त्रिपरिषद् बैठकबाटै छनोट समिति गठन गर्ने तयारी भएपछि अहिले प्रक्रिया रोकिएको छ ।
यी हुन् पाइपलाइनमा रहेका २५ कम्पनी
