
बैंकिङ खबर/ हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आइतबारसम्म मर्जरका लागि अन्तिम सम्झौता गरिसक्नुपर्ने भएपनि सम्झौता हुने छाँटकाँट भने देखिएको छैन । सैद्धान्तिक स्वीकृति दिएको तीन महिनासम्म पनि प्रक्रिया अगाडि नबढेपछि थपिएको अर्को दुई महिनासम्म पनि मर्जरले गति लिन नसकेको हो ।
आइतबारसम्म पनि अन्तिम सम्झौता नभए आफ्नो विशेष अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले उनीहरुमाथि कारवाही गर्नेछ । दुबै बैंकको संयुक्त मर्जर समिति राष्ट्र बैंकमा थप समय बढाइ दिन आग्रह गर्न जाँदैछन् । दुबै संस्थाबीच मर्जरका लागि गत वैशाख ३० गते समझदारी भएको थियो । सोही प्रक्रिया अनुसार उनीहरुले राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृति माग गरेका थिए र राष्ट्र बैंकले पनि दिएको थियो । सैद्धान्तिक स्वीकृति पाएपनि मर्जर प्रक्रिया भने अगाडि बढ्न सकेन ।
बीग प्रोब्लममा दुई बैंक
हिमालयन र नेपाल इन्भेष्टमेन्टका बीचमा मर्जर भाँड्न इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै लागेको समेत आरोप लाग्न थालेको छ । मर्जको अधिकांश काम सकिएपनि इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योति प्रकाश पाँडे नै हिमालयन बैकसँग इन्भेष्टमेन्ट बैंक मर्ज गर्न नचाहेकाले समस्या उब्जिएको आरोप लाग्न थालेको हो । इन्भेष्टमेन्ट बैंकका एक सञ्चालकले बैंकमा अर्बौको लगानी हचुवाको भरमा गरिएको समेत दावी गरे । पाँडेले बैंकबाट गरिएको लगानी सिमित मारवाडीलाई गरेको र सो लगानी गरिएको ऋणको धितो पनि कमसल खालको रहेको भेटिएको उनको भनाइ छ ।
सिईओ पाँडेले अर्बौ रकम लगानी गर्दा अधिकांश निर्णय आफै गर्ने गरेको र बोर्डलाई कुनै पनि जानकारी समेत नदिएको ती सञ्चालकले बताए । बैंकको लगानीमा सिईओ पाँडेले एकलौटी निर्णयबाट अर्बौ ऋण दिँदा २० प्रतिशतमात्र धितो लिएर दिएकाले मर्ज भएपछि उनको कर्तुत खुल्ने डरले मर्ज रोक्न उनी लागिपरेको समेत ती सञ्चालकको आरोप छ ।
यता हिमालन बैंकको मर्ज कमिटी लामो समयसम्म नबस्नुमा सञ्चालक मनोजबहादुर श्रेष्ठको पनि ठूलो भूमिका निभाएको आरोप लाग्न थालेको छ । गत शुक्रबार बसेको हिमालयन बैंक सञ्चालक समितिको बैंठकले पनि इन्भेष्टमेन्टसँग मर्ज गर्ने वा नगर्ने भन्ने विषयमा कुनै पनि निर्णय गर्न सकेनन । हालका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र मनोज बहादुर श्रेष्ठ हिमालयन बैंकको सबैभन्दा ठूला संस्थापक शेयरधनी पनि हुन् । यी दुबै मर्जका शुरुवातीदेखि नै इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान त्यति इच्छुक थिएनन् ।
हिमालयन बैंकमा अन्य बैंक मजर गरेर ल्याएर बैंकमा यी दुई जनाको प्रभुत्व जमाइ राख्ने चाहान्थे । हिमालयन बैंकका अर्का धेरै शेयर भएका सुनिलबहादुर थापा र सिपी खेतानले इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्न जोड गरेपछि यी दुई दाजु भाइ मर्ज भाड्न लागेको आरोप छ ।
हिमालयन बैंकका शेयरधनी मनोज बहादुर श्रेष्ठ र प्रचण्डबहादुर श्रेष्ठ दाजुभाइ इन्भेष्टमेन्ट बैंकसँग १ बराबर १ को अनुपातमा मर्जरमा जान नहुने अडान हालसम्म पनि यथावत नै रहेको छ ।
मर्ज भाँडिएको खबर बाहिर जानपूर्व नै हिमालयन बैंकले आफूलाई उपयुक्त अर्को वित्तीय संस्था मर्जमा ल्याउने सम्झौता गरेर मात्र मर्ज भाँडिएको खबर बाहिर ल्याउन योजनामा रहेको हिमालयन बैंक स्रोतले बताएको छ । श्रेष्ठ राजनीतिक शक्तिका आडमा हिमालयन बैंकको अध्यक्ष भएका थिए । उनी राज्यमन्त्री उमेश श्रेष्ठका साथी हुन् । उमेश श्रेष्ठको घरमा अहिलेका अर्थमन्त्री जनार्दन शर्मा बस्छन् । यो ’कनेक्सन’ को फाइदा प्रचण्डबहादुर श्रेष्ठले उठाएर बैंकको अध्यक्ष भएको बताइन्छ ।
के हुन सक्छ कारबाही ?
‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३’ अनुुसार सैद्धान्तिक स्वीकृति पाइसकेको बैंकबीच मर्जर नभए शेयर कारोबार थप समय रोकिने उल्लेख छ ।
हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको करिब ६ महिना भइसकेको छ । मर्जको सैद्धान्तिक सहमति लिइर मर्ज नगर्ने वित्तीय संस्थालाई राष्ट्र बैंकले गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियामा सामेल हुन निश्चित अवधिसम्म रोक लगाउन सक्ने पनि कानुनी व्यवस्था रहेका छ । त्यस्तो संस्थालाई तीन वर्षसम्म थप शाखा कार्यालय खोल्न रोक्न सक्छ ।